१०१ वर्षामापन केन्द्रमा नाघ्यो सतर्कता तह, तटीय क्षेत्रमा उच्च जोखिम

देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशका विभिन्न स्थानमा सञ्चालित १०१ वर्षामापन केन्द्रमा पानीले सतर्कता तह नाघेको छ। 

शनिबार बिहान ६ः२० को मापन अनुसार देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विभागले एक घण्टामा ६०, तीन घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्छ।

बागमती नदी र काठमाडौँ उपत्यका भई बहने यसका सहायक नदीमा जलसतह खतरा तहभन्दा धेरै माथि रहेको र थप बढ्ने पूर्वानुमान रहेकोले उपत्यका, मकवानपुर, सर्लाही र रौतहटको नदीतटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। 

साथै, नारायणी नदी देवघाटको जलसतह खतरा तहभन्दा माथि रहेको र अझै बढ्ने रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको महाशाखाले जनाएको छ।