कुलेखानी जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी शनिबार बिहान जलाशयको ढोका खोलिएको जानकारी दिए।  

बागमती– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको संकेत देखिएपछि ढोका खोलिएको छ। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी शनिबार बिहान तालको ढोका खोलिएको जानकारी दिए।  

“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर राति नै भरियो,” प्रजिअ चिलुवालले भने, “नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिक टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको छ।”  

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरे। कुलेखानीको क्षमता कुल एक हजार ५३० मिटर छ।