बाढी पहिरोमा परी देशभर ६ जनाको मृत्यु, नख्खु खोलाले बगाउँदा ४ बेपत्ता

ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनीमा नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्।

मनोहरा खोलामा आएको बाढी।तस्वीर: रासस

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ६ जनाको मृत्यु भएको छ।

सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। 

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलान्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। 

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ। फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको पहिरोले पुरिएर मृत्यु भएको हो। उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन्।

सिन्धुपाल्चोकको लिसंखु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार शुक्रबार राति आएको पहिरोले पुरिएर वडा नं ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो। ललितपुर र झापामा एक-एक जनाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनीमा नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्। जसमा एक महिला, दुई पुरुष, एक नाबालक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। 

बेपत्ता भएकाको खोजी जारी छ। देशभर करिब ४०० नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार १५० भन्दा बढी स्थानमा बाढी पहिरालगायत विपद्का घटना भएका छन्। २८ स्थानमा राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन्।