काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

काठमाडौँ– वर्षाजन्य विपद्‌मा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ। काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन्। नौ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए। 

बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना नेपाल प्रहरीको जनशक्ति खटिएको घिमिरेले जानकारी दिए। 

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले बताए।