पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्याएको छ।
काठमाडौँ– अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति पुर्याएको छ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुल्ला गरिएको छ। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण कोही पनि त्यहाँसम्म पुग्न नसकेको बताए।
गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुर्याएको अनुमान गरिएको उल्लेख गरे। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा र लेदो थुप्रिएको छ। नियन्त्रण कक्षमा रहेका दुई कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने नभएको उनले बताए। जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो। अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिदबिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने छ। शुक्रबार अपराह्न ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो।
वर्षाले विद्युत् आपूर्ति प्रभावित
अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ। वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौँ उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। उपत्यकामा विद्युत् माग सामान्य अवस्थामा करिब चार सय मेगावाट हुने गरेकामा आज दुई सय मेगावाटको हाराहारीमा मात्रै रहेको उनले बताए।
बानेश्वर ‘सबस्टेसन’बाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका ‘फिडर’समेत प्रभावित भएका छन्। भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन्।
त्यस्तै, पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द भएका प्रवक्ता घोषले जानकारी दिए।
लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रिधारा, टेकु सबस्टेसनबाट आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालीमाटी, चक्रपथ र चमती, नयाँ चाबहिल सबस्टेसनबाट आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका कलङ्की, बलम्बु रोपवे फिडर प्रभावित भएका छन्।
प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन प्राधिकरणको टोली खटिएको जानकारी दिए। धेरै ठाउँ जलमग्न भएका तथा नदीहरूमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भइरहेको उनले उल्लेख गरे। साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
