एन्फा एकेडेमीका ३ विद्यार्थीको शव फेला

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएकामध्ये तीन विद्यार्थीको शव भेटिएको छ।

मकवानपुर– इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जनाको शव भेटिएको छ। 

उनीहरूको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताए। कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए। उनीहरूसँगै अन्य तीन जना पनि सम्पर्कविहीन भएका थिए।

यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन्।