नेपाली उडान सुरक्षामा ‘जीकास’ भित्र्याऊँ

जीकासले एफ–१६ जहाजको उडान क्षमता, उड्नुपर्ने निर्धारित पहाड वा स्थलबारे सम्पूर्ण जानकारी राखी सम्भावित उडानको बाटोबारे उपयुक्त निर्णय लिन पाइलटलाई सहयोग गर्छ। 

के नेपाली उड्डयन क्षेत्र अहिले साँच्चै संकटमा छ? दुर्गम उडान गर्ने काबिल पाइलट धमाधम ‘ट्रंक रूट’ वा अन्य देशमा रोजगारीको अवसर खोज्न थालेका हुन्?

पुल्चोक क्याम्पसको एरोस्पेस इन्जिनियरिङ ब्लक 'डी'को सेमिनार हलमा गत सेप्टेम्बर २२ र २३ मा यी र यस्तै जिज्ञासा सुनिन्थ्यो। सहभागी दुर्गममा हुने दुर्घटनाको दरले पाइलट समुदायमा एक प्रकारको त्रास सञ्चार भइरहेको बताइरहेका थिए। यस्तो त्रासले आमरूपमा निकट भविष्यमा नै दुर्गम उडान गर्ने पाइलटको हाहाकार हुनसक्ने चिन्ता त्यहाँ व्यक्त भइरहेको थियो।

परिवर्तन भइरहने हवाई नियम, 'मार्केटिङ'को बढ्दो प्रभावका कारण सिर्जना हुने 'उडान-प्रेसर'लगायत यसका प्रमुख कारण हुन्। स्मरणीय छ, टिकट बेचिसकेपछि विमान उडाउनै पर्ने दबाब बेलाबेला ‘अप्रेसन’लाई हुनेगर्छ। विमान कम्पनीका आर्थिक र अप्रेसन गरी दुई प्रमुख पाटा हुन्छन्, अर्थोपार्जन प्रमुख लक्ष्यका रूपमा रहे पनि अप्रेसनमा सुरक्षा पनि सँगै लैजानुपर्छ भनिन्छ।  

उसो त, बढ्दो दुर्घटनाले सिर्जना गरेको मनोवैज्ञानिक दबाबकै कारण कतिपय चालक बिदेसिएका उदाहरण भेटिन्छन्, जसको कारण दक्ष जनशक्तिको अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेको छ। हुन त जुनसुकै हवाई दुर्घटनाबाट पाठ सिक्दा आउँदा दिनमा उडानलाई थप सुरक्षित बनाउन योगदान गर्छ, तर हाम्रोमा अघिल्ला कमजोरीहरूबाट सिक्ने अभ्यास भएझैँ लाग्दैन। 

पाइलटको विदेश प्रस्थानदर बढ्दै जानु सामान्य हो वा होइन, विश्लेषणको अर्को पाटो हुनसक्छ। निकट भविष्यमा स्टोल (छोटो रुटका उडान तथा अवतरण) पाइलटको संख्यामा समेत उल्लेख्य ह्रास आउनसक्ने आमचासो सुनिन्छ। अवस्था यतिमा मात्र सीमित नरही सबै दुर्गम उडान नै प्रभावित हुन सक्ने संकेत देखिएका छन्, जसले नागरिक र समस्त उड्डयन क्षेत्रलाई नै अप्ठ्यारो पार्न सक्छ। 

कल्पना बाहिरको त्यस्तो परिस्थितिबारे बेलैमा सघन विमर्श आवश्यक देखिन्छ। कसैले त्यस्तो समय कहिले आउला भनेर ठहर गर्न नसके पनि हाम्रो दुर्घटनाको दर हेर्दा परिस्थितिको आँकलन हाम्रो काबुमा भोलि नहुन पनि सक्छ। निष्कर्ष ठ्याक्कै नआए पनि नियामक नागरिक उड्डयन प्राधिकरण, सेवा प्रदायक वायुसेवा कम्पनी र विश्वविद्यालय फ्याकल्टीले आजको निराशा चिर्न थप अनुसन्धान र उड्डयन क्षेत्रको निराशा चिर्न उचित कदम चाल्न जरुरी भइसकेको छ। 

जिकास प्रविधि बुझाउने ग्राफिक्स चित्र। स्रोत: एभिएसनटुडेडटकम

यस्तै, निराशाबीच नेपाली हवाई दुर्घटनाका तथ्यांक केलाउँदै, दुर्घटनाको दर कम गर्न केही उपाय छन् कि छैनन् भनेर विमर्श गर्दै जाँदा अमेरिकाको मिलिटरी एयरक्राफ्ट एफ-१६ मा प्रयोग गरिएको सामग्री हाम्रा लागि उपयुक्त हुनसक्ने हवाई विज्ञहरूको राय छ। अमेरिकी एयरफोर्सको एफ–१६ असाध्यै राम्रो सैन्य क्षमताको र विश्वले राम्रो मानेको सैन्य जहाज हो, तर त्योसमेत शुरूका दिनमा निकै दुर्घटनामा परिरहने गर्थ्यो।

एफ–१६ जहाज दुर्घटना न्यूनीकरण गर्न उनीहरूले आफ्नो एयरफोर्स अनुसन्धान प्रयोगशालामा अनुसन्धान गरी नयाँ प्रविधि प्रयोगमा ल्याए, जसलाई स्वचालित जीकास नाम दिइयो। अमेरिकी स्पेस एजेन्सी नासा, अमेरिकी उड्डयन संगठन (फेड्रल एभिएसन एड्मिनिस्ट्रेसन–एफएए)ले समेत अनुमति दिएको ग्राउन्ड कोलिजन एभोइडेन्स सिस्टम (जीकास)को उपयोगले जहाज कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन (सीफीट) लाई गुणात्मक न्यूनीकरण गरी उल्लेख्य रूपमा मान्छेको ज्यान बचाउन सफल भइरहेको छ।  

जीकासले एफ–१६ जहाजको उडान क्षमता, उड्नुपर्ने निर्धारित पहाड वा स्थलबारे सम्पूर्ण जानकारी राखी सम्भावित उडानको बाटो (प्लान्ड ट्राजेक्टोरी)बारे उपयुक्त निर्णय लिन पाइलटलाई सहयोग गर्छ। जीकासले उडान भर्दाभर्दै अनिर्णीत हुने अवस्था आउँदा स्वचालित रूपमा सम्भावित विकल्पसहित पाइलटको सहयोगीको भूमिका खेल्नसक्छ। अमेरिकाको एफ–१६ जहाजको सीफीट घटनादर २६ प्रतिशत रहेको र तीमध्ये ७५ प्रतिशत विमान र तिनका पाइलट बचाएको तथ्य आइसकेको छ। एयरफोर्सले यसलाई 'लाइफ सेभिङ' उपकरणको रूपमा प्रयोग गरिरहेको छ ।

विगत १० वर्षको तथ्यांक हेर्दा नेपाली आकाशमा औसत ९३ प्रतिशत दुर्घटना सीफीटका कारण हुने गरेको छ। त्यसो हुँदा सो अमेरिकन प्रविधि हाम्रा लागि सहायक हुने देखिन्छ। अप्ठ्यारो बेला पाइलटलाई उडानबारे निर्णय गर्न सहयोग गर्ने सो संयन्त्र हामीले प्रयोग गर्नसके नेपाली आकाशको उडान थप सुरक्षित हुने विश्वास गर्न सकिन्छ। लगानीका हिसाबले न्यून र अमेरिकी सरकारको संरक्षणमा रहेको रिसर्च ल्याबसँग मात्र सो रहेकाले नेपाल सरकार–अमेरिकी सरकार (जीटूजी) माध्यमबाट सहकार्य गर्नसके यसको उपयोग नेपाली उड्डयन क्षेत्रले गर्न सक्ने देखिन्छ।

जीकासले मौसम, टेरेन (पहाड) र जहाजको कार्य क्षमता तथा अद्यावधिक स्यटेलाइट डाटामार्फत जहाजलाई सम्भावित विकल्पबारे समेत जानकारी गराउँछ। उडानका सम्भावित विकल्प यथासमयमा दिन सक्ने भएपछि उडानबारे पाइलटलाई निर्णय लिन सजिलो हुन्छ। यसो भनौँ, पाइलट दुबिधामा परे भने स्वचालित हिसाबले जहाजलाई सुरक्षित स्थानतर्फ लैजान सो उपकरणले पाइलटलाई गाइड गर्छ।  

तर नियमन संगठनले सो प्रविधिको प्रयोगपूर्व आवश्यक अनुसन्धान, अध्ययन र प्रयोग सम्बन्धमा सम्बन्धित स्टेकहोल्डरलाई आश्वस्त पार्न सके यो क्षेत्रमा थोरै भए पनि आशाको सञ्चार हुने देखिन्छ। ठोस विकसित परिस्थितिबारे पाइलटको निर्णयलाई सहयोग गर्ने यो प्रणाली धेरै ‘एकुरेट’ हुने, स्याटेलाइट डाटामा नगण्य त्रुटि हुने हुनाले यसको सान्दर्भिकता थप पुष्टि हुने देखिन्छ। वर्तमान नेपाली उड्डयन क्षेत्रले अनिवार्यजस्तै गरेको जिपिडब्लुएस (ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम), इजिपिडब्लुएस (इन्ह्यान्स्ड ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम) लगायतभन्दा स्वचालित जिकास प्रविधि असाध्यै धेरै उपयोगी हुन सक्ने देखिन्छ। 

अमेरिकी वैज्ञानिकहरूले दिने डेटा अमेरिकी भूगर्भबाट आउने, त्यसको 'एक्कुरेसी' अन्यभन्दा उच्च हुने हुनाले सो डाटा प्रयोग गर्दा सोहीअनुसारको प्रतिफल आउने अपेक्षा गरिन्छ। उसो त उड्डयन क्षेत्रमा जीपीएस डेटाबारे प्रशस्त शंका पनि रहेको पाइन्छ। सन् २०१४ यता एफ–१६ जहाजले यो प्रविधि प्रयोग गरी कैयौँ दुर्घटना न्यूनीकरण गरेको छ। त्यसो हुँदा यस प्रविधिलाई हामीले ल्याउन नपर्ने के कारण छ?

पहाडी भूभाग धेरै रहेको नेपालमा यातायातको उचित माध्यमको रूपमा रहेको हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास गर्नु आवश्यक छ। त्यसो गर्न सक्दा नेपालीको जीविकोपार्जन र आर्थिक विकासमा टेवा पुग्नेछ। यसले एकातर्फ दक्ष जनशक्तिको विदेश प्रस्थान कम गर्ने देखिन्छ भने अर्कोतर्फ बढ्दो व्यापारघाटा न्यूनीकरण गरी नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा नेपालको छवि बनाउने छ। अतः सम्बन्धित क्षेत्र जुटेर नेपाल सरकारमार्फत अमेरिकी सहयोग (डाटा तथा प्रविधि) लिएर नेपाली उड्डयनलाई थप मजबुत बनाउनु उपयुक्त देखिन्छ।

(नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक शर्माको यो निजी विचार हो।)