सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।
भक्तपुर– अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन्। बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै हनुमन्ते खोला र मनोहरा खोलामा आएको बाढीका कारण यहाँका बस्तीहरू डुबानमा पर्दा करोडौँको क्षति भएको छ।
मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ। कमेरोटार जग्गा एकीकरण आयोजनाले हालेको बनाएको ढलमा नगरपालिकाले सिन्टिटार, बोडे, निकासेरन, बाहखाबजारलगायतको ढल मिसाइदिएपछि ढल फुटेर बस्तीमा पसेको थियो।
शनिबार बिहान ७ बजेपछि हनुमन्ते खोलाको बहाव करिडोर पार गरेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्रको वडा नं ५ सङ्गम कोलोनी, वडा नं ९ को राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ। यहाँका करिब ५०० घरभित्र पानी पसेर सयौँ परिवार विस्थापित भएका छन् भने भुइँतलाका सम्पूर्ण सामान डुबेर क्षति भएको छ।
सयौँ पसलभित्र सात फिटसम्म पानी पर्दा करोडौँको सामानहरू क्षति पुगेको छ। राधेराधेबाट भाटभटेनी क्षेत्र राधेराधे निकोसेरा सडक क्षेत्रमा पाँच फिट उचाइसम्म पानी पुगेपछि यातायात अवरुद्ध भएका छन् भने व्यापारिक निकाय ठप्प भएका छन्।
बिहान ८ बजे आएको सशस्त्र प्रहरीको टोलीले राधेराधे क्षेत्रमा उद्धार कार्य जारी राखेको छ। यस क्षेत्रमा रहेका करिब १०० घरपरिवार सुरक्षित स्थानमा सरेका छन् भने कतिपय आफन्तकामा र कतिपय होटलमा गएको स्थानीय प्रदीप कार्कीले जानकारी दिए। यहाँको अवस्था भयावह भएको छ।
मध्यपुरथिमिकै मनोहरा खोला र हनुमन्ते खोलामा आएको बाढीका कारण मनोहरा बस्ती पूर्ण रूपमा डुबानमा परेको छ। जडीबुटीस्थित सुकुमबासी बस्ती पूर्ण रूपमा डुबानमा परेको छ भने जडीबुटी आँखा अस्पताल क्षेत्रको बस्ती डुबानमा परेको छ।
त्यस्तै, भक्तपुरको हनुमन्ते खोलाले ग्यासको बुलेट बगाएको छ। भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्यास लिक भएर चुहिँदै बुलेट बगेको पछि स्थानीयहरू त्रसित भएका छन्।
वर्षाका कारण भनपा–६ भीमसेनस्थानमा रहेको सिद्धिस्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द भएको छ। भक्तपुरको सिद्धिस्मृति अस्पताल डुबानमा परेपछि बिरामीलाई उद्धार गरी अन्यत्र अस्पताल पठाउन नेपाली सेनासहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ। इवामुरा अस्पतालमा पनि पानी पसेर आकस्मिकलगायत सेवाहरू प्रभावित भएका छन्।
भक्तपुरको सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। त्यहाँका विद्यालय, व्यापारिक केन्द्र र बस्तीहरू डुबानमा पर्दा लाखौँको क्षति भएको छ।
त्यस्तै, सूर्यविनायक क्षेत्रको सूर्यविनायक–२ स्थित गोदावरी खोला किनारका बस्ती र घरमा पानी पस्दा भक्तपुरको बालकोट र ललितपुर महालक्ष्मी नगरपालिकाको सिमानाका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा परेका छन्। त्यस क्षेत्रका पशुपक्षी बगाएको छ।
सूर्यविनायक –१० को भङ्गालमा गणेश दुलाल र भरत दुलालको घर पहिरोले पुरिएर चौपायासमेत पुरिएपछि मानवीय क्षति रोक्न प्रहरीको उद्धार टोली पुगेको छ। भक्तपुरको पलांसेनजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ।
सूर्यविनायक नगरपालिका–५ गडेधारा टोलमा स्थानीय घट्टेखोला पस्दा ४० घर डुबानमा परेको छन्। एक महिनाअगाडि परेको वर्षाका कारण पनि डुबानमा परेर लाखौँको क्षति भएको यस क्षेत्रमा राति १ बजेदेखि डुबानमा परेर स्थानीयले घर छाडेर आफन्तको पुगेका छन्। यस क्षेत्रमा लाखौँको क्षति भएको स्थानीय बासिन्दा एवं गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले जानकारी दिइन्।
मोर्डन चोकमा घट्टेखोलाको पानी पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३० घर डुबानमा परेको छ। दधिकोट तर्खगालस्थित नाङ्ग्गे पाखाबाट पहिरो आउँदा थिमि, गाम्चा र तर्खगालको सडक अवरुद्ध भएको छ। हनुमन्ते खोलाको बाढी पसेर मथिनपा–३ चारदोबाटोमा रहेको अन्नपूर्ण तरकारी बजार र मथिनपा–३ कौशलटारमा रहेको सागबारी टोल डुबानमा परेको छ।
सुनपा–२ कौशलटारबाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा नौ जना मानिस फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको टोलीले उद्धार गरेको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्लभरि खटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन्।
त्यस्तै, बालकोट नयाँ बस्ती, हनुमन्ते खोला आसपासका बस्ती पूर्ण रूपमा डुबानमा परेका छन् भने कतिपय भुइँतलाका मानिसहरू उद्धारको पर्खाइमा छन्। वर्षाका कारण चाँगुनारायण नगरपालिका–६ नगरकोट बाख्री गाउँमा तेलकोटदेखि बाख्री गाउँ हुँदै नगरकोट जाने बाटोमा पहिरो जाँदा हरिगुरु मार्ग पूर्ण रूपले अवरुद्ध तथा भक्तपुर नगरकोट सडकसमेत पहिरोले अवरुद्ध भएको छ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले धेरै ठाउँ डुबानमा परेको र पहिरो गएको जानकारी आइरहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी उद्धारमा खटिएको जानकारी दिँदै क्षतिको विवरण पनि संकलन कार्य जारी रहेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
