देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा हुनेछ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीसमेत चल्ने सम्भावना छ।

काठमाडौँ– देशभर आइतबार मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मधेश प्रदेशलगायत कोशी र लुम्बिनीको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ। 

गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्नसमेत महाशाखाले अनुरोध गरेको छ।

ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

महाशाखाका मौसमविद् रोजन लामिछानेले आइतबार राति कोशी, मधेश र बागमतीमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।  

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साँझदेखि वर्षा कम भएर जाने महाशाखाले जनाएको छ।