खराब ब्याटिङसँगै टी२० मा पनि नेपाल क्यानडासँग पराजित

क्यानडाको किङ सिटीमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयो।

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ। 

क्यानडाको किङ सिटीमा १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयो।

लगातार खराब खेलिरहेको नेपालको क्यानडा भ्रमणमा यो चौथो हार हो। 

घरेलु टोलीले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १२३ रन बनाएको थियो। क्यानडाका लागि साद बिन जाफरले सर्वाधिक २३ रन बनाए। 

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले सामान ३–३ विकेट लिए। रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीका नाममा १–१ विकेट रह्यो।

नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए।  कुशल मल्लले १२,  देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रनको योगदान दिए। 

नेपालले दोस्रो खेलमा आइतबार राति ओमानसँग खेल्नेछ।