शेयर बजारमा ३ महिनायताकै न्यून कारोबार

आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ।

आइतबार परिसूचक २२.३६ अंकले घटेर २४६४.४० को विन्दुमा कायम भएको छ। ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब पाँच करोड ६ लाख ५८ हजारमा खुम्चिएको छ। नेप्सेमा भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह २.९७ र जलविद्युत् समूह २.३६ प्रतिशतले घटेको छ। बैंकिङ ०.७४, विकास बैंक ०.८९, वित्त १.९१, होटल तथा पर्यटन १.४७ र लगानी समूह १.४० प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बीमा समूह ०.३१, म्युचुअल फन्ड १.२१, निर्जीवन बिमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ।

आइतबारको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सबैभन्दा बढी ६.६६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत रहेको छ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको १५ करोड ९२ लाख ३० हजार ८२० बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार ४४१ कित्ता शेयर किनबेच भएको छ।