एमालेले बोलायो सचिवालय बैठक

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दैछ।

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सकिएपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्दैछ। यसअघि बुधबार केन्द्रीय कार्यालयको बैठक बसेको थियो। 

सचिवालय बैठकले निर्वाचनको समीक्षा गर्नुका साथै पछिल्लो राजनीतिक विषयवस्तुका विषयमा छलफल हुने छ। त्यस्तै, समानुपातिकतर्फका सांसदको छनोटका विषयमा पनि बैठकले छलफल गर्ने छ।

निर्वाचन आयोगले मंसिर २४ भित्रमा राजनीतिक दललाई नाम सिफारिस गर्न पत्राचार गरिसकेको छ। एमालेले मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ४४ र समानुपातिकर्त ३४ सिटमा जित हासिल गरेको छ।