वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध भएको समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि आलोचना भएको छ।
काठमाडौँ– यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन्। बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्य राजमार्ग अवरुद्ध छन्। यस्तो अवस्थामा यातायातको एक मात्र विकल्पका रूपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भइरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए।
“विमान कम्पनीहरूले लिएको भाडा गैरकानूनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ,” उनले भने। उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रहसमेत गरिएको बताए।
वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरू लागेको दाबी गरे। “हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरूलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ,” उनले भने।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे। “सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ”, उनले भने।
काठमाडौँ–विराटनगरको एकतर्फी सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरूले बढाएर नौ हजार ९०० रुपैयाँ पुर्याएको जनाइएको छ। साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा १७ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।
हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ। यस्तो अवस्थामा यात्रुहरूसँग हवाई उडानको विकल्प छैन। काठमाडौँ भित्रने धादिङको झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ। काठमाडौँबाट तराई जोड्ने बीपी राजमार्गको रोशीखोला लगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए।
सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन्। “एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।” प्रधानमन्त्री ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत जानकारी दिए।
हवाई भाडा नियन्त्रण गर्न समितिको निर्देशन
राज्य व्यवस्था तथा सुशासन समितिले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन्।
“यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुशी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ,” निर्देशनमा भनिएको छ, “तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु।”
देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्नेसमेत उल्लेख गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
