सिधाकुरा डटकमका पत्रकार ढुंगाना र कँडेललाई थुनामा पठाउने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।

काठमाडौँ– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले आइतबार गरेको फैसलामा पत्रकारद्वय ढुंगाना र कँडेललाई अदालतको अवहेलना ठहर गर्दै थुनामा पठाउने आदेश गरेको हो।

पत्रकार ढुंगाना र कँडेलका हकमा उक्त अडियो आफैँ उत्पादन गरेको नभई अर्का प्रत्यर्थी राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर सामग्रीको परीक्षण नगरी न्यायिक प्रक्रियामा अफवाह फैलाउने कार्य गरेको हुनाले जनही तीन महिना कैद सजाय हुने ठहर गरेको भए पनि पत्रकारद्वयले क्षमायाचना गरी पुनः नदोहोर्‍याउने लिखित प्रतिबद्धता गरेमा सात दिन मात्र थुनामा राखी बाँकी कैद निलम्बन गरिदिने फैसलामा उल्लेख छ।

अदालतले लिएको बयानका क्रममा पत्रकारद्वयले अदालतको अवहेलना गर्ने नभई केवल प्राप्त सामग्री प्रकाशन गरेको फैसलामा छ। अदालतले  राजकुमार तिमिल्सिनाले झुट्टा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार ६ महिना कैद हुने ठहर गरेको छ।