बाढीपहिरोपछि अवरुद्ध यी सडकमा गाडी चल्न थाले

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटाैँडा र काठमाडाैँलाई जोड्ने तीन वटा सडक सञ्चालनमा आएका छन्। यस्तै, झ्याप्ले खोलाको पहिरो पन्छाएसँगै सडक एकतर्फी खुलेको छ।

बागमती– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडाैँका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक सोमबार बिहानबाट खुलेका छन्। 

यस्तै, त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। 

सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए। दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ। भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।

झ्याप्ले खोलाको पहिरो हटाइयो

नागढुंगा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हिजो बेलुकी हटाइएको छ। पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाण्डौतर्फ पठाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउनेछन्।

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी आइतबार साँझबाट यातायात सुचारु भएको छ। 

मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन सुचारु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए।

आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खुर्कोटको पुल बगाएसँगै जिल्लामा यातायात सुचारु गराउन वैकल्पिक सडक मन्थली–पकरवास–भिरापनी–सित्खा सडक तत्काल मर्मत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो।

कोशी ब्यारेजको पुलमा पनि गुड्न थाले गाडी
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात चल्न थालिसकेका छन्।

कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए।

कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो। सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ।

पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो।