प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार गर्ने निर्णय गरेको छ।

काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ।

संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो।

समितिले प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ असोज १६ गते बुधबार गर्ने निर्णय गरेको छ। समितिले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी परेको समितिले जनाएको छ।