नेप्से परिसूचक ४४.४५ अंकले बढ्दा शेयर कारोबार रकम पौने ४ अर्बमा खुम्चियो

सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले बढेर २५०८.८६ को विन्दुमा कायम भएको छ भने कारोबार रकम पौने चार अर्बमा खुम्चिएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ। सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले बढेर २५०८.८६ को अंकमा कायम भएको हो।

यस दिन ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ५० हजार ६८० पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ मा खुम्चिएको छ। नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो।

म्युचुअल फन्ड ०.६० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह ४.१९ र उत्पादन तथा प्रशोधन समूह ३.८३ प्रतिशतले बढेको छ। बैंकिङ १.१८, विकास बैंक १.९३, होटल तथा पर्यटन ३.२८, जलविद्युत् १.२२, जीवन बीमा १.७८ र लघुवित्त १.८५ प्रतिशतले बढेको छ। 

त्यस्तै, निर्जीवन बीमा ०.७१, व्यापार १.५२ र अन्य समूह २.३७ प्रतिशतले बढेको छ। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्म सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य ९.३६ प्रतिशत छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार ४२० कित्ता शेयर किनबेच भएको छ।