लुकेका सम्पदासँग हराएको जीवन जोडिरहेका ‘मिस्टर थ्रिसिक्स्टीफाइभ’

३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।

भक्तपुर– हातमा गिम्बल, सामान्य एनरोइड फोन अनि अनुहारमा मास्क लगाएर भक्तपुरका कुना कुनामा पुग्थे उनी। कतिपयले उनलाई घुरेर हेर्थे। आफ्नो टोलमा मास्क लगाएको मान्छे के गर्न आएछ भनेर चनाखो हुन्थे, कोही उनलाई सोध्थे पनि– ‘के गर्न आयौँ?’

खासमा उनी भक्तपुरको कुनाकाप्चामा रहेको पुरातात्विक तथा मौलिक सम्पदाको खोजीमा हिँड्थे। त्यसरी पुगेका स्थलको फोटो, भिडियो खिच्थे। आफ्नै आवाज दिएर डेढ मिनेटका छोटा भिडियो बनाउँथे जसलाई आफ्नो इन्स्टाग्राम र फेसबुक ह्यान्डल,‘थ्रिसिक्सटीफाइभ डेज् अफ एक्स्प्लोरिङ भक्तपुर’मा पोस्ट गर्थे।

भक्तपुरभित्रका लुकेका पाटाबारे आफूले बटुलेका जानकारी सामाजिक सञ्जालमा पोस्ट गर्दै जाँदा भक्तपुरवासीको ध्यान नतानिने कुरै भएन। त्यही कारण हिजोआज मास्क र गिम्बल बोकेर हिँड्दा मानिसहरू उनलाई ‘एक्स्प्लोरिङ थ्रिसिक्स्टिीफाइभ डेज्’ हो भनेर सोध्छन्।

उनी आफ्नो नाम खुलाइहाल्न भने चाहँदैनन्। सोध्नेहरूलाई परिचय खोल्न हिच्किचाउँछन्। तथापि चिन्नेहरूले उनलाई मिस्टर थ्रिसिक्स्टीफाइभ (३६५) नै भनेर बोलाउन थालेका छन्। यो नाम उनी स्वयंलाई पनि मन परेको छ। 

३६५ दिनको भक्तपुर घुमाइ
वर्षभरि भक्तपुर घुमेर सम्पदाको खोजीनिति गर्ने योजना उनले २०८० वैशाख १ गते सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए। जात्रामा साथीभाइसँग रमेर बसिरहेका बेला आफूमा एक्कासि त्यस्तो सोच आएको उनी बताउँछन्। “नयाँ वर्ष शुरू भएकै दिन थ्रिसिक्सटीफाइभ डेज् अफ एक्स्प्लोरिङ भक्तपुर (एक वर्ष भक्तपुर घुमौँ) वाक्य नै फ्याट्ट दिमागमा आयो। त्यसअघि मैले यसबारे केही सोचेकै थिइनँ,” उनी भन्छन्।

क्षणिक समयको लागि आएको सोच वर्षभर नै जाला भन्ने पनि उनले सोचेका थिएनन्। 

भक्तपुरमै जन्मेहुर्केका कारण उनलाई गृहनगर पूरै घुमेको छु जस्तो लाग्थ्यो। तर एक्स्प्लोरिङ ३६५ डेज शुरू गरेपछि भक्तपुरमा घुम्नुपर्नेमध्ये ७५ प्रतिशत ठाउँमा आफू पुग्नै बाँकी रहेछ भन्ने महसुस भएको उनी बताउँछन्। “मेरै गोलमढी टोलको गणेश मन्दिरको तोरणमा भैरवको आकृति रहेछ। त्यो मलाई थाहा थिएन,” उनले थपे। 

उनी अर्थात् मिस्टर थ्रिसिक्स्टीफाइभ सामाजिक कार्य र मनोविज्ञान विषय लिएर स्नातक तहमा पढ्दै थिए। यदाकदा सामाजिक कार्यमा सामेल भएर पनि अधिकांश समय फुर्सद नै हुन्थ्यो। त्यही फुर्सदिलो क्षण उनले भक्तपुर घुम्नमा उपयोग गरे। शुरूआती दिनमा उनी प्रायः साँझमा निस्कन्थे। फर्केर फोटो र आफ्नो अनुभवसहितको क्याप्सन मात्र इन्स्टाग्राममा राख्ने थिए। पहिलो तीन महिनासम्म उनको पोस्टमा फोटो मात्र छन्। 

उनले पाउने प्रतिक्रियामा भिडियोको माग भयो। त्यसपछि भने उनले रिल बनाएर राख्न थाले। आफू पुगेका ठाउँहरूको भिडियो बनाएर राख्थे, तर त्यसमा आवाज हुँदैनथ्यो। त्यस्ता भिडियो दर्शकलाई मात्र नभई उनलाई नै खल्लो लाग्यो। कमेन्टमा आएका सुझावले थप दबाब महसुस भयो अनि भिडियोमा उनले आफ्नो भ्वइसओभर थपे।

उनले पहिलोपटक १२९औँ दिनमा आवाज दिएका थिए। त्यसपछि भक्तपुर भ्रमण केही समयका लागि रोकियो। १७०औँ दिनपछि पुन: भिडियोमा आवाज दिन थालेका हुन् उनले। त्यसअघि कहिल्यै आफ्नो आवाज रेकर्ड गरेर नसुनेको कारण पहिलो भ्वइसओभर राखेको दिन संकोचका कारण घरबाहिर निस्कनसमेत अप्ठ्यारो लागेको अनुभव उनीसँग छ। स्क्रिप्ट पढेर भ्वइसओभर गर्दा भने उनी आफैलाई आफ्नो आवाज बनावटी लाग्यो। त्यसकारण स्क्रिप्ट बिना नै आवाज दिएर भिडियो बनाइरहेको उनले बताए।

“इन्स्टाग्रामको भिडियो डाउनलोड गरेर राख्न मिल्छ भन्ने पहिले थाहा थिएन। त्यसकारण इन्स्टाग्राम र फेसबुकमा राख्न एउटै भिडियोलाई म छुट्टाछुट्टै भ्वइसओभर दिन्थेँ,” आफ्नो पहिलेको अनभिज्ञताबारे उनी खुले।  

शुरूआती दिनमा राखेका फोटो ३०० देखि ५०० सम्म दर्शकले हेर्थे। भिडियो राख्न थालेपछि भने आफ्ना पोस्टको भ्यु ५० हजारदेखि पाँच लाखसम्म पुगेको उनले बताए। एक महिनाअघि इन्स्टाग्राममा राखिएको एउटा भिडियोमा त एक लाख ६७ हजार भ्यु पुगेको उनी बताउँछन्। 

नियमित घुमफिरमा समेटिने भक्तपुर क्षेत्रभन्दा निकै भिन्न भक्तपुर आफूले देखेको उनले बताए। हालसम्म जे देखाइयो त्यति मात्र भक्तपुर नभएको बताउने उनी आफूले देखाएका अधिकांश कन्टेन्ट धेरैका लागि नौलो भएको दाबी गर्छन्। 

पुराना प्रवेशद्वारहरूको अवशेष, प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा फोड्न नसकेको प्रवेशद्वार, नासद्यः (नाचगानका देवता) लगायतका अन्य अमूर्त सम्पदा आफूले जनमानसमा जानकारी गराउने प्रयास गरेको मिस्टर थ्रिसिक्स्टीफाइभ बताउँछन्। कुनै स्थान, मठमन्दिर, देवालय वा ऐतिहासिक सम्पदालाई स्थानीयले कसरी बुझिरहेका छन् त्यसमा आधारित भएर सम्पदा अन्वेषण गर्ने गरेको उनको भनाइ छ। 

घुमफिरपछि अध्ययन गरेर सबैभन्दा बढी चलेको आम मान्यताका आधारमा सम्पदाबारे जानकारी दिएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् उनी। “प्राज्ञिक व्यक्तित्वहरूले गहन अध्ययन गर्नुभएको हुन्छ,” उनी भन्छन्, “उहाँहरूको अध्ययनशील बुझाइ र स्थानीयको मान्यता दुवैलाई एक ठाउँमा राख्दा जुन जानकारी साझा बन्छ त्यति मात्र प्रसारण गर्छु।” 

एक पटक भक्तपुरकै एक विद्वानबाट पाएको प्रतिक्रिया उनलाई याद छ– ‘तिमीहरू जस्तैले जे पायो त्यही भन्दा हाम्रो इतिहास बिग्रिएको हो।’ त्यस्ता टिप्पणी र प्रतिक्रियाको हेक्का राख्दै उनी सकेसम्म गलत सूचनाबाट जोगिने प्रयास गर्छन्। ३६५ दिने भक्तपुर भ्रमणको उत्तर्राद्र्धमा आइपुग्दा तिनै विद्वान्बाट सकारात्मक प्रतिक्रिया पाएपछि उनी दंग भए। 

यसरी भक्तपुरका कुना–कुना घुम्ने, फोटो र भिडियो खिच्ने गरिरहँदा कहिलेकाहीँ उनलाई आफूले गरिरहेको कर्मप्रति प्रश्न पनि उठ्थ्यो। अनेक सन्देहका बीच आफ्नो घुमफिर यात्रालाई उनले निरन्तरता दिए। 

दिनभर घुमेर साँझ घर पुगेपछि फोटो छान्थे, भिडियो सम्पादन र भ्वइसओभरको काम सक्थे। “सबै काम सकेर भिडियो पोस्ट गर्दा प्रायः रातको १ बज्ने गर्थ्यो। बिहान चाँडै उठ्ने बानी नभएर होला मध्यरात पछिसम्मको दैनिकीले मलाई खासै असर पारेको थिएन,” उनले भने। 

युवा पुस्तालाई सम्पदा र संस्कृतिबारे बुझाउने सबैभन्दा उपयोगी माध्यम इन्स्टाग्राम लाग्ने कारण पनि उनी यसमा बढी सक्रिय छन्। डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव विस्तार गरेर अर्थोपार्जनको माध्यम बनाउने प्रचलन पनि बढ्दो छ। मिस्टर थ्रिसिक्स्टीफाइभलाई पनि त्यस्तो प्रस्ताव नआएको होइन। तर आफूले कुनै प्रकारको ‘पेड प्रोमोसन’ नगरेको उनले बताए।

आफ्ना दाजुभाइसँग कुराकानीको क्रममा उनलाई एउटा गिम्बल उपहारको अफर आयो। त्यसलाई भने स्वीकारेका उनले भिडियो बनाउन प्रयोग गर्दै आएका छन्। 

‘क्यालेन्डर’ भन्दा पनि ‘कन्टेन्ट’मा बितेको वर्ष
३६५ दिनको भक्तपुर भ्रमणमा आफूले हरेक दिन परिवार र साथीभाइसँग बित्ने समय उपयोग गरेको मिस्टर थ्रिसिक्स्टीफाइभ बताउँछन्। अरू बेला घुमघामको आनन्दमा बितिरहे पनि जात्रापर्वमा भने कामको दबाब महसुस हुने उनको अनुभव छ। “जात्राको रमाइलो एकातिर छ, सँगसँगै ताजा फोटो–भिडियो खिचेर एडिट गर्ने र सही जानकारी राखेर बनाउने दायित्व पनि थपिन्छ। त्यही भएर अलि प्रेसर फिल हुन्छ,” उनी भन्छन्। 

भर्खरै सकिएको गाईजात्राको सम्झना गर्दै उनले भने, “भिडियो–फोटो खिच्न पहिले नै सजिलो ठाउँ छानेँ, स्थानीयसँगको कुराकानी र थप रिसर्च गरेँ। बिहान, दिउँसो र साँझको समय फुटेज खिच्नमा बिताएँ अनि राति भिडियो बनाएर पोस्ट गरेँ।” 

चाडपर्वमा त्यससँग सम्बन्धित जानकारी नछुटाई दिन सकिएन भने खल्लो लाग्छ उनलाई। त्यसबारे उनी भन्छन्, “युवापुस्तामा एउटा स्ल्याङ प्रचलित छ– फोमो अर्थात् फिअर अफ मिसिङ आउट। मलाई पनि चाडपर्वमा त्यससँग सम्बन्धित जानकारी दिन नपाउँदा फोमो हुन्थ्यो।”

गत वर्षको दशैँ लागेपछि उनले घुमघामसम्बन्धी स्ट्याटस र भिडियो पोस्ट गर्न छोडे। चाडपर्वको निजी समय परिवार, साथीभाइसँग बिताऊँ भन्ने उनको मनसाय थियो। त्यसमाथि उनी पढेको विद्यालयले दशैँमा आयोजना गर्ने अन्तरफुटसल टुर्नामेन्टको आयोजक उनकै ब्याच थियो। 

त्यही कारण केही दिनका लागि सामाजिक सञ्जालबाट आराम लिएका बेला भिडियो किन आएन भनेर सोधिएका मेसेजले उनको डीएम भरिभराउ भयो। त्यसले आफूलाई थप जिम्मेवारी बोध गराएको उनले बताए। 

भक्तपुरको तलेजु भवानी मन्दिरजस्ता कतिपय स्थानको फोटो खिच्न पाइँदैन। त्यस्ता ठाउँमा भने आफूले हस्तक्षेप नगर्ने उनी बताउँछन्। “निजी क्षेत्र अथवा प्रवेश गर्न अनुमति नभएका स्थानहरूमा म जान्नँ,” उनी भन्छन्, “व्यक्तिगत स्वामित्व र धार्मिक मूल्यमान्यताको सम्मान गर्नुपर्छ।” व्यक्तिगत स्वामित्वका स्थलहरूमा खिचेका कति फोटो, भिडियो उनले पोस्ट गरेका छैनन्।

वर्षभर घुम्दा देखेको सम्पदाको हालतले उनलाई निराश पनि नबनाएको होइन। यद्यपि त्यस्तो भावलाई नै सम्पदा सुधारको पक्षमा आवाज बनाएर भिडियोमार्फत पस्किन सकेकोमा सन्तोष मानिरहेका छन् उनी। 

“खोज्दै जाँदा नयाँ कुरा भेटिन्छ। त्यसले डोपामिन (खुशी राख्ने हर्मोन) रिलिज गर्छ,” घुम्दाको अनुभव सुनाउँदै उनले भने, “दिनभर खोज्दा केही नभेटेर निरास भइन्छ। केही नभेट्दाको निराशासहित फर्किदा संयोगवश सोच्दै नसोचेको नयाँ सम्पदा वा त्यससम्बन्धी जानकार व्यक्ति भेटिन्छन्।”

नयाँ चिज, मूर्ति वा स्थान भेटिँदा हुने खुशीसँगै ती स्थानको भित्री कुरा बुझ्दै जाँदा पुनः निराशामा पुगेको भोगाइ पनि उनीसँग छ। कतिपय मन्दिर एउटा अक्षतासमेत कसैले नचढाउने गरी उपेक्षित अवस्थामा रहेको उनले पाएका छन्। २०७२ सालको भूकम्पले यस्ता मूर्त र अमूर्त सम्पदामा क्षति पुगेको उनको बुझाइ छ। 

आँखामा अटाएका दृश्य उतार्दै उनी भन्छन्, “चोकभित्रका कतिपय घर भग्नावशेष बनेका छन्। त्यहाँ पुग्दा लाग्छ, भित्र कोही भए नयाँ मान्छे आउँदा झ्यालबाट हेर्थे होलान्। आँगनमा बच्चाबच्ची खेल्थे होलान्। तर सुनसान छ। हाम्रो घर, मन्दिर, चोकबाट जीवन हराएको छ।”

आफ्नो रोजाइको यो सोखले सम्पदालाई हेर्ने नजरिया नै परिवर्तन भएको मिस्टर थ्रिसिक्स्टीफाइभ बनाउँछन्। आफ्नो सक्रियताले स्थानीय सरकारलाई पनि जिम्मेवारीमा घच्घच्याएको उनले पाएका छन्। 

उनका अनुसार, सुकुलढोकास्थित नारायण मन्दिरको चोक सफा थिएन। उनले त्यसको भिडियो पोस्ट गरे। “त्यो देखेका स्थानीयले सरसफाइ गर्न नगरपालिकासँग माग गरेछन्,” उनले भने, “नगरपालिकाको अग्रसरतामा त्यहाँको सरसफाइ भएछ। त्यो थाहा पाउँदा छुट्टै खालको खुशी मिल्यो।”

संस्कृति र सम्पदामा भक्तपुरको सम्पन्नताले नै आफूलाई खुशी तुल्याएको बताउने उनी यसअघि सम्पदाप्रति झुकाव राख्ने व्यक्ति थिएनन्। जात्रापर्वमा फोटो खिच्ने, रमाउनेमै उनको रुचि सीमित थियो। तर एक्कासि आएको सोचसँगै थालेको ३६५ दिने भक्तपुर भ्रमणले सम्पदासँगको नाता तोडिनै नसक्ने गरी जोडिदिएको छ। त्यसैको फलस्वरूप पाँच महिनाअघि मात्रै उनी ‘बाखः न्यने वा’ मा रिसर्च अफिसरको रूपमा जोडिएका छन्। 

अबको यात्रामा आफूले ‘रिलिभ एन्ड रिभाइभ भक्तपुर’लाई जोड दिने उनी बताउँछन्। हराइसकेको गीत, संगीत, नाच, चालचलन, पूजापाठ लगायतका अमूर्त सम्पदाबारे खोजबिन गरेर तिनलाई पुनर्जीवित राख्न सकिने आशा उनमा छ।

“मेरो टोलको वास्तविक नाम गोमारी हो। अहिले गोलमढी भएको छ,” उनले भने, “यसरी हराउन लागेको मौलिकतालाई पुनः प्रयोगमा ल्याएर बचाउन सकिन्छ।” यसबाहेक युवाको समूह बनाएर भक्तपुरको वृहत् अध्ययन गर्नुपर्ने खाँचो पनि उनले देखेका छन्। 

अब फेरि थाल्ने ३६५ दिनको नयाँ यात्रामा भने उनी भक्तपुरका वृद्धवृद्धाको फोटो खिच्ने योजनामा छन्। खिचिएका फोटो छापेर तिनै वृद्धवृद्धालाई दिने उनको मनसाय हो। यसको लागि चाहिने रकम जुटाउने तरखरमा उनी छन्। 

बितेको एक वर्ष सम्झँदा कुनै दिन ‘टाइम ट्राभल’ गर्न पाए फर्किएर केही सुर्धान मन छ? उकालोको यो प्रश्नमा उनी भन्छन्, “मैले शुरूकै दिनदेखिको अनुभवलाई जर्नल गरेको (लेखेको) भए अझ बेस हुन्थ्यो होला। जर्नलिङ किन गरिनँ होला भन्ने लागेको छ।” उनका शुभचिन्तकको आशा छ– त्यो अभाव उनले अबको यात्रामा पक्कै परिपूर्ति गर्नेछन्।