विपद्मा परेका ७१३ जनाको हवाई उद्धार

नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

काठमाडौँ– नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

“बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलान्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घाइतेलाई अस्पतालसम्म पुर्‍याइएको छ,” प्रवक्ता तिवारीले भने, “निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ।” 

गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाई उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए। “हवाई उद्धार अन्तिम अन्तिम चरणमा पुगेको छ,” उनले भने, “आवश्यकताअनुसार भोलिबाट पनि हवाई उद्धार हुन्छ।”

सेनाको टोलीले उद्धारसँगै हवाई साधनमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ। गृह मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन र राहत वितरण भइरहेको जनाइएको छ। विपद्का घटनामा सुरक्षाकर्मीले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको गृह मन्त्रालयले जनाएको छ। 

सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारीअनुसार विपद्का कारण अवरुद्ध राजमार्ग सुचारु गर्ने क्रम जारी छ। कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ।