दाउन्नेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिँदा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौँ– पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको हो। सडक चर्किएर साढे १ फिट जमिन भासिएको छ। सडक भासिँदा किनाराको ‘रिटर्निङ’ पर्खाल पनि फुटेको छ। 

होङ्सी सिमेन्ट जाने हाइटेन्सन लाइनको पोल पनि सडकतर्फ ढलेको छ। जसका कारण सोमबार साँझ सवा पाँच बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएर पूर्व–पश्चिम आवागमन गर्ने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारीसाधन दुम्किवासमा रोकिएका छन्। पश्चिमबाट पूर्व जाने सवारीसाधनहरू बर्दघाटमा रोकिएका छन्। 

बाटो खुलाउन सडक डिभिजन कार्यालय र विद्युत् कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।