हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ, जनजीवन प्रभावित

पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्। 

ताप्लेजुङ– शनिबारको घनघोर वर्षासँगैको आएको बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा रहेको झण्डै ४५ मिटर लामो बेलिब्रिज बगाएपछि यातायातमा कठिनाइ भएको छ। 

ताप्लेजुङका लागि ‘लाइफलाइन’ का रूपमा रहेको उक्त पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्। 

फिदिम–ताप्लेजुङ चल्ने छोटो दुरीका यात्रु बोक्ने सवारीसाधन फाट्टफुट्ट चलेका छन्। तर दुवैतर्फका गाडी हेवा खोलासम्म मात्र पुग्छन्। हेवा खोलामा पुगेका यात्रुले केहिबेर हिँडेर त्यहाँ रहेको झोलुंगे पुल हुँदै वारपार गर्नुपर्छ र अर्को गाडी चढ्नुपर्छ। 

अर्कातर्फ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण बाटो अवरुद्ध हुँदा इलाम, झापा जाने यात्रु थप मारमा परेका छन्। मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यातायात सहज तुल्याउन प्रयास गरिरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ। 

यता फिदिम नगरपालिका र पाँचथरका सुरक्षा निकायले हेवा खोलामा यात्रुको सहजताका लागि मोटरसाइकलसम्म वारपार गराउन मिल्ने गरी बाँसको फड्के बनाउन थालेका छन्। 

धरानबाट ताप्लेजुङ र पाँचथर पुग्ने छोटो दूरीको निर्माणाधीन तमोर करिडोरको सडक समेत अवरुद्ध छ। ठाउँ–ठाउँमा पहिरोले सडकमा क्षति पुगेको छ भने मोटरेबल पुल नभएका खोलामा सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन। निर्माणकै क्रममा रहेको करिडोर सञ्चालनमा आए पनि यस अन्तर्गतका धेरैवटा खोलामा पुल बनिसकेका छैनन्। 

सोमबार केही यात्रुवाहक र सामान बोकेका साना सवारीसाधन दोभान, हाङपाङ, तेह्रथुमको सक्रान्ती, म्याङलुङ हुँदै धरान गएका छन् भने धरानबाट सोही बाटो हुँदै ताप्लेजुङ पनि आएका छन्। 

आठराई त्रिवेणी गाउँपालिका हुँदै तेह्रथुम जोड्ने उक्त सडकलाई तत्कालका लागि वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भन्दै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमू सहितको टोलीले सोमबार सडकको अनुगमन गरेको छ। “वैकल्पिक रूपमा यस क्षेत्रका तीन वटा सडकलाई प्रयोग गर्न सकिन्छ। यीमध्ये कुन सहज हुन्छ भन्ने एकिन गर्न र मर्मत गर्नुपर्ने ठाउँको पहिचान गर्न अनुगमन गरिरहेका छौँ, तेह्रथुमतर्फ पनि समन्वय गर्दैछौँ,” अध्यक्ष पोमूले भने। 

हेवा खोलाको पुल गत वर्षको असारमा समेत बाढीले बगाउँदा महिनौँ सास्ती भएको थियो। सडक विभागले उक्त समयमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालनमा आएको थियो। शनिबार आएको बाढीले त्यही बेलिब्रिज बगाएको हो। साधारणतया यात्रुले असहज रूपमा विभिन्न विकल्प अपनाएर यात्रा गरे पनि ताप्लेजुङबाट तराईतर्फ उपचारका लागि जानुपर्ने  बिरामी, वृद्धवृद्धा, अशक्तलाई समस्या हुने देखिएको ताप्लेजुङ निवासी हरिकुमार लिम्बूले बताए। 

पुल बगेसँगै ढुवानीका साधन केही बीचैमा अलपत्र परेका छन् भने ताप्लेजुङ हिँड्न लोड भएका केही साधन झापामै रोकिएको ताप्लेजुङ ढुवानी सेवाका कुमार तामाङले बताए। ढुवानी सेवामार्फत झापादेखि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान ताप्लेजुङ आउने गरेको छ भने यहाँबाट अलैँची लगायतका सामान लैजाने गरिएको छ। 

ढुवानी सेवा ठप्प हुँदा सामान्यतया समस्या भए पनि तत्काल ताप्लेजुङमा दैनिक उपभोग्य सामानको भने अभाव नरहेको उद्योग वाणिज्य संघ ताप्लेजुङले जनाएको छ। संघले तत्काल उपभोग्य सामग्रीको मौज्दात पर्याप्त रहेको निष्कर्ष सहित शनिबार नै कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गरेको छ भने उपभोक्तालाई समेत आत्तिएर सामान खरिद नगर्न भनेको छ। 

“बजारमा करिब दुई हप्तालाई पुग्ने गरी दैनिक उपभोग्य सामानको मौज्दात देखिएको छ, कृत्रिम अभाव सिर्जना नगर्न, मूल्यवृद्धि नगर्न सबै व्यवसायीलाई सूचना गरेका छौँ। दुई हप्ताभन्दा लामो समयसम्म सडक अवरुद्ध भए त्यसपछि समस्या होला,” संघका सचिव खेम केसीले भने। 

पुल नहुँदा यातायातमा कठिनाइ हुने र लामो समय ढुवानीका साधन चल्न नसक्ने अवस्था आए समस्या हुन सक्ने भन्दै सर्वसाधारणले भने चिन्ता व्यक्त गरेका छन्। चाडबाड सुरु भएको साथै पाथीभरा मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि ठूलै समस्या हुने भएकाले तत्काल समस्या समाधानमा ध्यान दिन आवश्यक भएकामा स्थानीयको जोड छ। 

यता पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भई विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ विद्युत्‌विहीन छ। पहिराले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढालेकाले विद्युत् अवरुद्ध भएको हो। उक्त टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङ अन्धकारमा परेका छन्। 

विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण र व्यवसायी पनि मारमा छन्। यही समयमा ताप्लेजुङका निजी विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले बालबालिकालाई समस्या भएको अभिभावकले बताएका छन्। यस्तै स्थानीय रेडियोले आफ्नो प्रसारणको समय कटौती गरेका छन्।