हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

काठमाडौँ– संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे ५०० उडान भएका छन्। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान (डिपार्चर) र २२१ अवतरण (अराइभल) भएका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन्। प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए। एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ। यसअघि अघिल्लो वर्ष दशैँका बेला यस्तो उडान चाप थियो। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक ५०० हाराहारी उडान भएका थिए। अन्तर्राष्ट्रियमा दैनिक ११३ देखि ११५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक २७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए।

विमानस्थलका प्रवक्ता शेर्पाले मंगलबारका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको बताए। अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने उनो भनाइ छ।