शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।
कमलामाई– सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर थियो। लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए।
शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। दशैँअघि थन्क्याई सक्ने तयारी थियो। बाढीले हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन्।
जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोकनिद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ। “जेठमा ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ। सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन,” उनले भने। किसान श्रेष्ठले २२ रोपनीबाट १०० मुरी धान भित्र्याउने गरेका थिए। यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो।
सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलंगेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताइन्। तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाइन्। सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो। यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन। पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिबेला चिन्ता बढेको छ। नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ। कतै बालुवा, माटो, ढुंगा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ। सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै ३०० बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ। सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेँसीफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए।
हरिहरपुरगढी गाउँपालिकामा बागमती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ। हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ। पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ।
भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन्। बालुवा, माटो, ढुंगा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन्। मन बुझाउने विकल्प भेट्दैनन्। किसानलाई सरकारसँग पनि केही आशा छैन। जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन्।
कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन। सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ। क्षति विवरण संकलन भइरहेको उनको भनाइ छ। क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन्। कृषि विकास कार्यालयको तथ्यांकअनुसार यस वर्ष सिन्धुलीको ११ हजार १८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
