विपद् प्रभावितलाई तत्काल राहत वितरण र पुनर्स्थापना गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले विपद्का कारण अवरुद्ध राजमार्गमा अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँ– संसदीय समितिले बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरूलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकले अवरुद्ध राजमार्ग पुनः सञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो। 

बैठकले सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। 

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनर्स्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ।