२ दिनभित्र खोजी तथा उद्धार सकिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो तथा डुबान प्रभावितलाई राहत रकम वितरण गर्न थालिएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका प्रभावितलाई राहत रकम वितरण कार्य थालिएको बताएका छन्। उनले खोजी तथा उद्धारको कार्य दुई दिनभित्र गरिसकिने बताएका छन्।

प्रधानमन्त्री ओलीले घाइतेको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् आदि सेवा सञ्चालनका लागि प्रक्रिया शुरू गरिएको पनि उनले बताए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण २२४ जनाको मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।

विपद्को घटनाबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

भौतिक क्षतिको प्रारम्भिक आकलनअनुसार हालसम्ममा खानेपानीका संरचनामा तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा चार अर्ब र सिचाइ पूर्वाधारतर्फ एक अर्बको क्षति भएको अनुमान छ।