लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह

परराष्ट्र मन्त्रालयले हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

काठमाडौँ– नेपाल सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ। 

परराष्ट्र मन्त्रालयले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको उल्लेख छ।

“हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहनुभएको छ। उहाँहरूको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ, “साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिन्छ।”

तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरूका आफन्तहरूलाई नेपाली राजदूतावास कायरोमा तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।