नेपाल क्यानडासँग ४ विकेटले पराजित

नेपालले दिएको १४० रनको विजयी लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– क्यानडामा जारी त्रिकोणात्मक टी२० शृंखलाअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले स्तब्ध भएको छ। 

प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा क्यानडाले दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि जित आफ्नो पक्षमा पार्‍यो।

नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। साद बिन जाफर ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नटआउट रहे।

नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए। सोमपाल कामीका नाममा १ विकेट रह्यो। 

त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको शुरूआत राम्रो रह्यो।  नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे।

साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए। आसिफ शेखले ३०, कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए। गुल्सन झा २३ र करण केसी ८ रनमा नटआउट रहे। क्यानडाका हर्ष ठाकेरले २ विकेट लिए।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो। नेपालले अन्तिम खेल बुधकार राती ओमानसँग खेल्नेछ।