वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

कोशी, बागमती तथा गण्डकीका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ। अविरल वर्षाको सम्भावना नभएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ। 

कोशी, बागमती तथा गण्डकीको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। “कोशी, बागमती र गण्डकी प्रदेशकै केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ,” उनले भने, “तर गत साता जस्तो लगातार झरी पर्दैन, कति सर्वसाधरणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन।”

महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर–पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ।

महाशाखाका अनुसार हाल कोशीलगायत बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ।