लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको आग्रह

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ।

काठमाडौँ– इजरायल-लेबनान युद्ध चर्किएपछि सरकारले लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ। 

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको हो।

“हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहनुभएको छ। उहाँहरूको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ। 

अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै मन्त्रालयले नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ।