अर्थमन्त्रीले उद्योगीहरूलाई भने- आन्दोलनमा होइन, उत्पादनमा लाग्नुहोस्

मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने बताएका छन्।

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले उद्योगी-व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन्।

बिहीबार ‘फिन इलेक्ट्रो टेक-२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी-व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहको भन्दै उद्योगी-व्यवसायीहरू सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन्।

"सडकमा आन्दोलन गर्ने व्यवसायीहरूको काम होइन। अहिले व्यवसायीहरू उत्पादन व्यवसायमा लाग्नुस्", उनले भने।

उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायत उद्योग-व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिसहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए। उनले मन्त्रिपरिषद्‍मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको पनि सुनाए।

मन्त्री शर्माले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीले सडक रोज्न नहुने तर्क गरे। उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए।

"बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको छ। व्यवसायीहरूको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ", उनले भने, "समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ। निजी क्षेत्र निराश भयो, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस् ।"

त्यस्तै, मन्त्री शर्माले अब विद्युत् बेच्ने जमान नभएको भन्दै विद्युत्लाई हाइड्रोजन बनाएर इन्धन निर्यात गर्ने देशमा पुर्‍याउने सरकारको लक्ष्य हुनुपर्ने बताए। उनले अटो व्यवसायीहरूले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताए। उनले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाको विषयमा गम्भीर रूपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए।