१६औँ शताब्दीसम्म पश्चिमा भूगोलमा महिलालाई कफीसप छिर्न र कफी पिउन अनुमति थिएन। महिला उत्तेजक रूपमा रौसिने भएकाले तिनलाई कफीसपमा रोकिएको भालेसत्ताको भाष्य हुन्थ्यो।
मंसिरको उत्तरार्द्धको एकाबिहानै कुपण्डोलस्थित चिया पसलमा फुत्त छिरेँ। दुई पक्की घरबीच रहेको थोरै खाली ठाउँ सदुपयोग गरी बनाइएको सानो छाप्रे होटल थियो। होटल के भन्नु? दुई अग्ला पक्की घरबीच अडमिल्दो सर्वहारा ‘टाइप’को खाजा टहरो भन्न मिल्ने!
पसलभित्र आधा दर्जनजति तराईमूलका अधबैँसे पुरुष छरिएर बसेका थिए। कोही मस्त चुरोट तन्काउँदै थिए, कोही चिया पिउँदै। पुरुषहरूमाझ फुत्त एक अधबैँसे महिला पस्दा गफ र आफ्नै धुनमा रहेका पुरुषहरू अलि झस्केझैँ भए। यद्यपि, मैले कुनै संकोच महसुस गरिनँ। एकैछिन समय काट्ने संयोगमा त्यहाँ पुगेकी थिएँ।
सामान्य शिष्टाचार निर्वाहकै लागि भए पनि चिया या खाजा ‘अर्डर’ गर्नुपर्छ भन्ने लाग्यो र करिब ६० उमेरका दुब्ला तराईमूलका साहुसँग मैले कालो चिया मागेँ। वातावरणमा पसिनामिश्रित मयलको गन्ध आइरहेको थियो। साथमा बेलुकीको चारपाने रक्सीको रहलपहल गन्ध पनि मिसिएको थियो।
मेरो आगमनले अलिक असहज देखिएका ती पुरुषहरूलाई सहज बनाउने उपाय सोच्दै चिया साहुसँग गफ झिके। “कति भयो पसल राखेको साहुजी? कुन जिल्लाको हुनुहुन्छ?” बुझ्दै जाँदा थाहा लाग्यो, पसलवाला भारत उडिसा राज्यका रहेछन्।
उनका अनुसार उनी नेपाल आएकै झन्डै ३० वर्षभन्दा बढी भइसकेको रहेछ। उनका अनुसार कुपण्डोलमै उडिसाका २५/३० जना श्रमिक/मजदुर काम गर्छन्। केही घर बनाउने काममा त केही तरकारी बेच्ने र केही कवाडी संकलनको काममा। उडिसावासीका लागि नेपाल परदेशै भयो। विश्वभरका श्रमिकका झन्डै उस्तै कथा र बेथा हुने भए। त्यसमाथि, भारत र नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्था धेरै फरक छैन। कामका लागि नेपालबाट भारत पसेकाहरू 'नेपाली बहादुर, गोर्खा दरबान' या यस्तैयस्तै नामबाट पुकारिने हुन्। नेपाल आएका र श्रम गरेर खाने उडिसाका श्रमिकलाई पनि नेपाली शासक वर्गले पस्केको भाष्य उही मर्स्या, धोती र भैयाका द्वेषी उपमा बनेका छन् र यिनले सम्बोधनका दुर्व्यवहार कति खप्न परेको होला, यसबारे खोतल्न पाइनँ।
घण्टौँ एक्लै रमाउन सक्ने स्वभावको मेरो यहाँ समय तन्किइरहेको थियो। पुरुषहरूको गफ र चुरोट तन्काइमा रगमगिएको वातावरण मेरा लागि चाखपूर्ण बनिरहेको थियो।
सोही माहौलमा अर्की एक महिला फुत्त छिरिन्। उमेरले ३० वर्ष नकटेझैँ लाग्ने। प्रवेशी महिलाको लवाइ र छाप्रे खाजाघरको छनोटले उनी पसलकै सहयोगी हुन् कि भन्ने अनुमान लगाएँ। लिंगले हामी दुवै एकै समुदायका। पितृसत्ताले सखारैदेखि काममा लगाउँछ महिलालाई र साँझ नपर्दै घर छिर्ने उर्दी जारी गर्छ। तर यहाँ पितृसत्ताले दपेट्ने र दुत्कार्ने हामी दुई आइमाई बिहानैदेखि सार्वजनिक चिया पसलमा थियौँ।
हरेक बाहिरी संसारमा व्यस्त हुने महिला हिजोदेखि आजसम्म ‘जान्ने पल्टने′ र ‘घरभाँडा′ र 'चरित्रहीन' हुन्, जो बिहान बेलुका कुनै पनि बेला मस्त हिँड्छन्, मुखाले र अटेरी हुन्छन्।
चिया पसल होस् वा रक्सी पसल, ९९ प्रतिशत नै पुरुषको कब्जामा हुन्छ। बाँकी एक प्रतिशतमा कहिलेकाहीँ मजस्ता महिला या किशोरी आइपुग्ने हुन्। आम कुरा गर्ने हो भने बिहानको चिया र बेलुकीको रक्सी पसलको समय महिलाचाहिँ सबैभन्दा बढी घरधन्दामा आक्रान्त हुने हो। ससाना बालबच्चा, लोग्ने, आमाबा, सासू–ससुरालाई खाजा, खाना 'टिफिन' तयार गर्ने, सेवा र सुसार गर्ने समय हो। मेरै अनुभूतिले भन्छ, यो समय थाकेर हुरुक्क हुने बेला हो। इलाइट र पुँजीपति महिलाको सन्दर्भ अपवाद हो। उनीहरू आम लोग्ने मान्छेजस्तै दिनको कुनै पनि समय भट्टी र कफीसपमा गफिन सक्छन्, किनकि तिनका लागि अनेकन् श्रमिक हात जति नै खेर सेवामा उपलब्ध हुने सम्भावना बढी हुन्छ।
१६औँ शताब्दीसम्म पश्चिमा भूगोलमा महिलालाई कफीसप छिर्न र कफी पिउन अनुमति थिएन। तत्कालीन पश्चिमा समाजमा एउटा व्यंग्य प्रचलनमा थियो। कफीसप राजनीतिक बहसको थलो भएकोले महिला जानै हुन्न। महिला उत्तेजक रूपमा रौसिने हुन्छन्, पुरुषभन्दा बढी कामुक हुन सक्छन्। त्यसैले महिलालाई बढी उत्ताउलो हुनबाट रोक्न कफीसप जान र कफी पिउन वञ्चित गरिएको थियो। ६०० वर्षपछि पनि महिलालाई 'सभ्य र शालीन बनाउने' कथित औपचारिक र अनौपचारिक अभ्यास जारी छ।
पत्रिका पढेजस्तो गर्ने हुन् वा साँच्चिकै चिन्तन मनन गर्ने हुन्, पुरुष डफ्फाको डिङ हाँक्ने थलो हो चिया पसल। एक पटक आफूलाई समाजवादी पुरुष भन्न रुचाउने दुई पुरुष मित्रलाई मैले प्रश्न गरेको थिएँ। “किन ससाना नानीसहितका तपाईंका श्रीमतीलाई बिहान घरमा नसघाइ चिया पसलमा गफ लडाउन हत्ते गर्नुहुन्छ?” दुईमध्ये एकको जवाफ थियो “तपाईंलाई थाहा नै छैन अनौपचारिक रूपमा राजनीति र अन्य विशेष जानकारीका लागि पनि बिहानको चिया गफ आवश्यक छ।”
मैले प्रतिउत्तरमा थपेँ, “उसो भए तपाईंकी श्रीमतीजीलाई पनि यो अवसर उपलब्ध गराउनुस् न त उहाँले पनि पसलबाट देशको राजनीति र अन्य सूचना प्राप्त गर्नुहुन्छ।” पुरुष मित्रको जवाफ थियो, “मैले रोकेको छैन।” बिहान सधैँ चिया पसलमा उनको उपस्थिति देखिएबाटै उनले रोकेका छन् या छैनन् भन्ने कुरो सहजै बुझ्न सकिन्थ्यो। सँगैका अर्को विद्वान मित्रले त कुनै उत्तर दिनसमेत आवश्यक ठानेनन् र मौन बसे।
घरधन्दाको बोझलाई सरलीकृत गर्नु आमपुरुषको भाष्य हो। जुन कामको भार पुरुषले थोरैसमेत बोकेकै छैनन्, त्यसको मर्म र अनुभूति उनीहरूलाई नहुनु तिनलाई स्वाभाविक लाग्छ।
चिया पसल, रक्सी पसलमा चाहिने–नचाहिने देश दुनियाँका चर्चा हुन्छन्। चल्तीका सामाजिक, राजनीतिक, आर्थिक सबै कथ्य ओकल्ने र निल्न चिया र रक्सी पसल कामलाग्दा हुन्छन्।
अलि पहिले युवाकालमा पुरुषको झुन्डको अगाडिबाट हिँड्न मलाई कम्ता दकस लाग्दैनथ्यो। श्वासै थुनिएजस्तो, दिमागशून्य हुन्थ्यो। अझ पात्तिएका र महिलालाई यौनपुतली मात्रै ठान्ने गतिछाडा रोगी पुरुषले बाटोघाटोमै थुप्रै पटक मेरो हुर्मत लिएका छन्। आमा, काकी, दिदी, बहिनी र साथीले हजार पटक "लोग्ने मान्छेहरू यस्तै हुन्छन्" भन्दै सामान्यीकरण गरेको सुनेको र देखेकै हो।
यो समय २१औँ शताब्दीको पूर्वार्द्धको हो। पाँच दशक पार गर्दैगर्दा पुरुषका अनेकन् रूप, छद्मरूप, सोच र ढाँचाकाँचा सीमाहीन रूपमा अनुभूत गरिसकेको छु। आज पुरुषहरूसँग कुनै दकस छैन मलाई। जुन रूपमा पुरुष प्रस्तुत हुन्छन्, सोहीअनुसार जवाफ दिन आउँछ। मैले संगत गर्ने पुरुष र अन्य पुरुषमा हिजोभन्दा महिलालाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने कुरामा पक्कै भिन्नता छ, तर पूर्ण रूपमा भने अझै समानुभूति गर्न पाएको छैन।
चिया पसलमा करिब एक घण्टाजति बसाइ भो। शुरूमा कालो चिया र त्यसपछि दूध चिया खाइयो। पुरुषहरू मस्त बात मार्दैथिए। गफमा हिजोको बेलुकीको झ्वाइँखट्टे अलिक बढी भएकोदेखि आजको कामको योजना र घरव्यवहारसमेत समेटिएका थिए।
यस धर्तीमा आँखा खोलेदेखि शुरूमा महिला आमा र त्यसपछि बाउ पुरुषकै स्पर्श पहिलो पटक महसुस गरेको हो। त्यसपछि दुई पुरुष दाइ र भाइको साइनो लिएर हुर्के। यो साइनो सापेक्ष हुने भइगयो। नाता र गैरनातामा हुने माया, घृणा, विश्वास, अविश्वास, सहयोग र असहयोग स्वाभाविक हुन्। पहिलो पुरुषको भर र माया बा, दाइहरू र भाइले दिए। पछिल्लो समय एक थान लोग्ने र छोराको पनि धनी भइयो।
आममहिलाले भोग्ने अनुभूति उस्तै छन्। अपवाद त सिद्धान्त हुँदैनन्।
बाको पितृसत्ताले कक्रक्क थिइन् आमा। बिस्तारै दाइ र भाइ पनि पितृसत्ताकै रखवारी बन्दै गए। तिनले छिमेक वरपरबाट सजिलै सिक्ने कुरा थियो भालेवाद।
हजारौँ वर्षदेखि गढेर बसेको कुसंस्कृति फ्याँक्न जति मिहिनेत र हस्तक्षेप गर्नुपर्थ्यो, सामाजिक र राजनीतिक रूपमा त्यो भइरहेको थिएन र छैन।
नियन्त्रण, कब्जा र दमन शब्द आफै एकांकी र तानासाही लाग्छन्। यी शब्दहरू केवल शब्दकोशमा मात्रै सुहाउँछन् अब किनकि स्वतन्त्रता सबैभन्दा महत्त्वपूर्ण हुन्छ। महिलालाई पूर्ण रूपले मान्छे स्वीकार गरेपछि नै उनको मर्यादा र सम्मानको कुरा आउँछ।
आधा धर्ती पितृसत्ताले तोकेको चौघेरामै सधैँ कैद भएको भए, घरै मात्रै रुँगिरहे यो संसारको गति यसरी बढ्न सम्भव हुन्थ्यो?
जीवनमा केही पुरुष साँच्चिकै सम्मानलायक छन् र थिए, जसको संख्या एकदम थोरै छ। अनि केही पुरुषहरू हदैसम्म घृणालायक भेटिए। अतः अब महिलाले विश्वास गर्न सक्ने, मनभित्रैबाट श्रद्धा गर्न मन लाग्ने पुरुषको जमात विशाल बनाउन हामी सबैले जोड गर्नुपर्छ।
पुरुष लिंग हुनेबित्तिकै मैमत्त साँढे हुन पाउने व्यवस्था मान्छेले नै बनाएका हुन्। त्यसो भन्दैमा पुरुषमा दुःख नभएका होइनन्, तिनका अनगिन्ती दुःख छन्। र, कतिपय त भालेसत्ताले नै त्यो दुःख सिर्जेको छ।
पुरुष अहंकारका कारण ऊ परिवार र समाजमा एक्लो हुन जान्छ। यो चलन सयौँ होइन, हजारौँ वर्षको हो। पितृसत्ताको पर्खालले सिर्जना गरेका आततायी श्रृंखला भत्काउँदा महिलालाई फाइदा त छँदै छ, पुरुषलाई पनि बेस्सरी छ। समाजको सबै सत्तामा भाले माथि रहने विधिको अन्त्य अवश्यम्भावी छ। अधमरो पितृसत्ताको कंकाललाई जति छिटो समभाव र सहअस्तित्वको हम्मरले धूलिसात बनायो, त्यति नै समाज र परिवारलाई फाइदा छ।
(लेखक महिला आयोगकी पूर्व सदस्य हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
