काठमाडाैँको एक होटलबाट ६ जना बांग्लादेशी नागरिकको उद्धार

 वैदशिक रोजगारीका लागि नेपालको बाटो हुँदै युरोप पठाउने एजेन्टको प्रलोभनमा पर्दा उनीहरू ठगीमा परेका हुन्।

काठमाडाैँ– काठमाडाैँको मित्रनगरस्थित होटल न्यु डिलाइट एन्ड लजबाट मंगलबार प्रहरीले अलपत्र अवस्थामा रहेका ६ जना बांग्लादेशी नागरिकको उद्धार गरेको छ।

उनीहरूलाई बांग्लादेशी नागरिक दिपु भनिने एसके महबुलले युरोपेली देश पठाइदिने प्रलोभनमा पारी नेपाल ल्याएको खुलेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलले जनाएको छ। उद्धार गरिएकामा मोहम्मद रहिम कोन्दोकार, शकिब अहमद, मोहम्म तुहिनुर, दुलाल हुसेन, सम्राट बौइद्य र रैयान काजी छन्। वैदशिक रोजगारीका लागि नेपालको बाटो हुँदै युरोप पठाउने महबुलको प्रलोभनमा पर्दा उनीहरू ठगीमा परेका हुन्।

नेपालबाट युरोपेली देश पठाउन सजिलो हुन्छ र ५/६ दिनमै युरोप पठाइदिन्छु भनी झुक्यानमा पारी महबुलले करिब चार महिनाअघि उनीहरूलाई नेपाल ल्याएर उक्त होटलमा राखेका थिए।अभियुक्तले युरोपेली देश अल्बानिया, लिथुआनिया र सर्बिया पठाइदिने भन्दै पीडितबाट रकम पनि लिएका थिए।

नेपालको भिसा म्याद सकिएको हुनाले उद्धार गरिएका सबैलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ। 

पीडितहरूले नेपालमा कानूनी कारबाहीको लागि जाहेरी नदिई एजेन्ट महबुलविरुद्ध सोही देशको कानूनबमोजिम आवश्यक कारबाहीको लागि जाहेरी दिने बताएको ब्युरोले जनाएको छ।