एभरेस्ट महिला भलिबल लिगमा कर्णाली विजयी

बुधबार भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।

काठमाडौँ– नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एसभिएस विजयी भएको छ। बुधबार भएको खेलमा उसले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उक्त खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो। आजको खेलमा कर्णालीले ललितपुरलाई पहिलो सेटमा २५–२२ अंकले पराजित गर्‍यो। दोस्रो सेट पनि २५–२२ अंकले नै जित्यो। खेलको अन्तिम निर्णायक सेटमा कर्णालीले ललितपुरलाई २९–२७ अंकले हरायो।

कर्णालीले यसअघि मधेश युनाइटेडलाई ३–१ र गण्डकी थन्डर्सलाई ३–२ सेटले पराजित गरेको थियो। जितसँगै कर्णालीले आठ अंक जोडेको छ। तीन खेल खेलेको ललितपुरको ६ अंक छ। प्रतियोगितामा ललितपुर  पहिलो पटक पराजित भएको हो। ललितपुरले यसअघि काठमाडौँ स्पाइकर्स र मधेसलाई समान ३–१ सेटले हराएको थियो। 

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको यस प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन्।