वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौँ आवागमन

सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।

मन्थली– मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको सवारी आवागमन बुधबार साँझदेखि खुलेको छ।

बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो। पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो। रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ।  

सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो। सरोकारवाला सबैको पहलमा सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। 

सडकमार्ग खुलेपछि दशैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ। यसअघि खुर्कोटको पुल निर्माण नहुँदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडौँ आवतजावत गर्थे। 

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान १२६ किमी पार गर्नुपर्थ्यो। यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडौँका लागि २०० किलोमिटर यात्रा गर्नुपर्छ।