जापानको विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० उडान रद्द

जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।

अक्टोबर २, २०२४ मा क्योडो न्युजले हेलिकप्टरबाट लिएको तस्वीरमा दक्षिण–पश्चिम जापानको मियाजाकी एयरपोर्टको ट्याक्सी–वेमा बम विस्फोटबाट बनेको एउटा खाडल देखिएको छ।

जापानको एक विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।

विमानस्थलमा गाडिएको अवस्थामा रहेको बम विस्फोटपछि ट्याक्सी–वेमा करिब सात मिटर (२३ फिट) चौडा खाडल बनेको छ। बीबीसीका अनुसार अहिलेसम्म कुनै पनि हताहतको रिपोर्ट गरिएको छैन। विस्फोट भएको स्थाननजिकै कुनै पनि विमान नभएकाले ठूलो क्षति हुनबाट जोगिएको छ।

दक्षिण–पश्चिम जापानको मियाजाकी विमानस्थलमा बुधबार बम विस्फोट भएको हो। बम दोस्रो विश्वयुद्धको समयमा आत्मघाती अभियान ‘कामिकाजे’ विमानलाई रोक्नका लागि खसालिएको ठानिएको छ।

“त्यहाँ दोस्रो विस्फोटको कुनै खतरा छैन र प्रहरी र अग्नि नियन्त्रकले हाल घटनास्थलको परीक्षण गरिरहेका छन्,” मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीको भनाइ छ, “बिहीबारबाट विमानस्थल पुनः सञ्चालनमा ल्याइँदै छ।

जापानको सेल्फ डिफेन्स फोर्सको बम डिस्पोजल टोलीले विस्फोटको स्रोत ५०० पाउन्डको अमेरिकी बम भएको पुष्टि गरेको छ। यातायातमन्त्रीले बम कहिले खसालिएको भन्ने पुष्टि गर्न नसकिने बताए। यद्यपि स्थानीय सञ्चारमाध्यमले यो बम दोस्रो विश्वयुद्धताका खसालिएको हुनसक्ने जनाएका छन्।

क्युशु टापुको दक्षिण–पूर्वी छेउमा अवस्थित मियाजाकी विमानस्थललाई १९४३ मा जापानी नौसेनाको आधार क्षेत्रका रूपमा निर्माण गरिएको थियो। देशैभरि विस्फोट नगरिएका बमहरू गाडिएको अवस्थामा रहेको बताइएको छ। समाचार एजेन्सी रोयटर्सले सन् २०२३ मा ४१ टन तौलका दुई हजार ३४८ बम डिस्पोज गरिएको जनाएको छ।