कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।
सुनसरी– केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो। राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो। सयौँले ज्यान गुमाए भने अर्बौंको क्षति भयो। यस पटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ। कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो। कति पुल भत्किए, कति बस्ती उजाडिए। तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ।
बराहक्षेत्र नगरपालिका–६ का बिरबल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्छन्। उनले वर्षायामका बेला वर्षभर पुग्ने दाउरा कोशीबाट संकलन गर्दै आएका छन्। संकलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उनको पुरानै पेसा हो। यस पटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उनले बताए। खाना पकाउनेदेखि आफूले पालेको १५ सुँगुर र पाँच भैँसीलाई कुँडो पकाउन एक वर्षका लागि दाउराको जोहो भएकामा उनी ढुक्क छन्।
“यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो। घर अलि पर भएकाले केही क्षति हुन पाएन,” माझीले भने, “यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइनँ। दाउरा पनि धेरै ल्यायो।” तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरै जना दाउरा संकलनमा व्यस्त छन्।
माझीजस्तै मजदुरी गर्ने अधिकांश दशैँ खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरिरहेका छन्। चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्। नदीको भेलले बगाएर ल्याएको दाउरा संकलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ। बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ।
बराहक्षेत्र–८ की सोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दशैँ खर्च जुटाइरहेकी छन्। नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठाने पनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। “सजिलो त कहाँ छ र दाउरा निकाल्न। निकै बल लगाउनुपर्छ। निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ,” उनले भनिन्।
कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा संकलन गर्नेको भीड लाग्छ। कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुंगा लिएर नदीको बीचसम्म पुगेर दाउरा संकलन गर्छन्। महिला र पौडिन नसक्नेहरू बगरमा बसेर दाउरा संकलन गर्छन्।
जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर रु १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र–८ जितपुरकी आसा चौधरी बताउँछिन्। कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एक दिनमै तीन देखि चार ट्याक्टरसम्म संकलन गर्न भ्याउँछन्। “अरू बेला जंगलमा साइकल लिएर दाउरा खोज्न घण्टौँ लाग्छ, अहिले बाढीले ल्याएको दाउरा संकलन गर्न सके वर्ष दिनलाई ढुक्क,” उनले भनिन्। पैसाको खाँचो परेको बेला दाउरा बेचेर पनि लिन सकिने उनी बताउँछिन्।
कोशी नदीको बीचमा रहेको बराहक्षेत्र वडा नं ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाएझैँ दृश्य देखिन्छ। कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो। बाढीले दाउरा मात्र होइन, ठूला रूख पनि बगाएर ल्याउने गर्छ। त्यहाँका युवाले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीय बासिन्दा सन्तोष राजवंशीले बताए। “माथिल्लो भेगमा वर्षा शुरू हुनासाथ यहाँका स्थानीय कोशीमा दाउरा निकाल्ने तयारीमा बसेका हुन्छौँ,” उनले भने।
कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन्। सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन्। धेरैजसोले समूह बनाएर डुंगाको प्रयोगबाट कोशी नदीको भंगालोमै पसेर दाउरा निकाल्ने गर्छन्। पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिंगै रूख र हाँगाबिँगा संकलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
