भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
काठमाडौँ– गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाको स्थायी रूपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक पर्ने जनाएको हो।
मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवं यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवं राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको बताए।
उनले विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवं जोखिम कम गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न र गर्नै परे सावधानी र सतर्कता अपनाउन अनुरोध गरेका छन्।
“असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ गरेर यात्रुहरूलाई सुरक्षित ढंगले प्राथमिकता दिई यात्रुहरूलाई गन्तव्य स्थलमा पुर्याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ,” उनले भने।
काठमाडौँबाट छुट्ने यात्रुवाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाइ छ।
मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ। प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए।
उनका अनुसार २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिसकिएको छ। अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी छ।
“यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ,” उनले भने।
यही असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरूमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो।
हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन। लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ।
बीपी राजमार्ग चौकीडाँडा–कालढुंगा १८ किमीमध्ये करिब १२ किमी सडक पूर्ण रूपमा बगेका कारण केही स्थानमा सवारीसाधन रोकिएका छन्।
रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका विकल्प प्रयोग गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिने सचिव शर्माले बताए।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किमी खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ।
शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमी र बागमती पुलको दायाँ–बायाँ एप्रोच, मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ।
मेची राजमार्ग रमिते– फिदिमको आठ किमी, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम जारी छ। मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी छ।
यी खण्डमा असोज १२ गतेदेखि नै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
