बाढीपहिरो प्रभाव: नवरात्रमा पनि सुनसान पाथीभरा

हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

ताप्लेजुङ– हरेक वर्ष नवरात्रमा भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ।

हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

समितिका अनुसार बडादशैँको पहिलो दिन बिहीबार घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन्। गत वर्ष सोही दिन एक हजार १४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए। 

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ। तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्। 

प्रसिद्ध तीर्थस्थल पाथीभरामा नवरात्र र चैतेदशैँमा धेरै भक्तजन आउने गरेका छन्। विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए।