दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोटपछि विमानस्थलहरूमा विस्फोटक सामग्री खोज्दै जापान

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम मियाजाकी विमानस्थलमा विस्फोट भएपछि जापानले क्षेत्रीय विमानस्थलहरूमा खोजी गरी विस्फोटक सामग्री सफा गर्ने घोषणा गरे‍को छ।

अक्टोबर २, २०२४ मा क्योडो न्युजले हेलिकप्टरबाट लिएको तस्वीरमा दक्षिण–पश्चिम जापानको मियाजाकी एयरपोर्टको ट्याक्सी–वेमा बम विस्फोटबाट बनेको खाडल देखिएको छ।

जापानका यातायात मन्त्रीले क्षेत्रीय विमानस्थलमा गाडिएको अवस्थामा रहेका विस्फोटक सामग्री खोजबिन गरी सफा गर्ने बताएका छन्। 

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम एक विमानस्थलको ट्याक्सी–वेमा विस्फोट भएपछि जापानले विमानस्थलमा खोजबिन गर्ने घोषणा गरेको हो। 

बुधबार मियाजाकी विमानस्थलमा बम विस्फोट भएको थियो।‍ एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेको देखिएको छ। घटनामा कोही पनि हताहत नभए पनि साँझसम्मका लागि उडान स्थगन गरिएको थियो।

यातायातमन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भने, “मियाजाकी विमानस्थल र अन्य विमानस्थलमा चुम्बकीय साधन प्रयोग गरी यस्ता खतरनाक वस्तु खोजी गर्न सरकारले आदेश दिएको छ।” 

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार शुरूमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलमा खोजी केन्द्रित हुनेछ।

स्थानीय सञ्चारमाध्यमका अनुसार युद्धकालमा जापानका कतिपय विमानस्थललाई सबै सैन्य सुविधाका लागि प्रयोग गरिएको थियो।

असाही शिम्बुनका अनुसार सन् २०११ यता मियाजाकीमा विमानस्थलको पार्किङ एप्रोनमा पुनरुत्थानको क्रममा एक टनको उपकरणसहित तीन वटा बम फेला परेका छन्। 

दर्जनौँ ‘कामिकेज’ विमानलाई आत्मघाती मिसनमा पठाएको मियाजाकी विमानस्थल सन् १९४३ मा एक शाही जापानी नौसेना बेसको रूपमा शुरू भएको थियो। 

सन् १९४५ मा नागासाकी र हिरोशिमामा आणविक बम विस्फोट हुनुअघि अमेरिकी वायु सेनाले जापानका दर्जनौँ शहरमा भारी बमबारी गरेको थियो।

मार्च १९४५ मा मात्र एक रातमा टोकियो र वरपरका क्षेत्रमा लगभग एक लाख नागरिक मारिएका थिए।

सेल्फ डिफेन्स फोर्सेजका अनुसार सन् २०२४ को अप्रिलसम्म जापानको सेनाले दुई हजार ३४८ वटा विस्फोट नभएका उपकरण सुरक्षित रूपमा हटाएको थियो। यीमध्ये ४४१ ओकिनावाको दक्षिणी क्षेत्रमा रहेका थिए।