साइकलयात्रीको मृत्युपछि विराटनगर भन्सार परिसरमा प्रदर्शन, भीड नियन्त्रण गर्न टियर ग्यास प्रहार

ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि एकीकृत भन्सार जाँचचौकी परिसर तनावग्रस्त बनेको छ।

विराटनगर– ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि एकीकृत भन्सार जाँचचौकी परिसर तनावग्रस्त बनेको छ।क्षतिपूर्तिको मागसहित स्थानीय आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको हो।

चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिएपछि साइकल यात्री साह घाइते भएका थिए। विराटनगरबाट एकीकृत भन्सार जाँचचौकीतर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई बिहीबार साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। सो खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन्।

सुरक्षाकर्मीको टोली सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गरेको थियो। यद्यपि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउन्ड टियर ग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको उनले बताए। अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको पनि प्रहरीले जनाएको छ।  

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।