ललितपुरका ३ गाउँपालिकामा ८ दिनदेखि विद्युत् अवरुद्ध

दक्षिण ललितपुरका तीन गाउँपालिकामा बाढी तथा पहिरोले विद्युतका खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेपछि आठ दिनदेखि विद्युत् अवरुद्ध भएको छ।

ललितपुर – असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी–पहिरोले दक्षिण ललितपुरका तीन गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। यहाँ विद्युत्का खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेकाले आठ दिनदेखि विद्युत् अवरुद्ध भएको हो।

महांकाल गाउँपालिकाका धामी, टुङ्गुन र मसानखोलामा आएको बाढीले सय केबीएको ट्रान्सफर्मर बगाउनुका साथै १५ वटा विद्युत्का पोल काम नलाग्ने गरी क्षति पुर्‍याएको छ। कोञ्ज्योसोम र बागमती गाउँपालिकामा पनि बाढीले विद्युत्का पोल बगाएको र क्षति पुगेको छ।

ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले यहाँ ७८ वटा पोल बाढीले बगाएको र सडक अवरुद्ध हुँदा पोल ढुवानीमा समस्या भएकाले समयमै सेवा सञ्चालन गर्न नसकिएको बताए। 

“यहाँ सडकसमेत अवरुद्ध भएकाले आवश्यक सामग्री ढुवानी गर्न नसक्दा समस्या भएको छ। यसकारण महांकाल र बागमती गाउँपालिका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न एक हप्ताभन्दा बढी समय लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ। हामी सकेसम्म चाँडै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”, उनले भने।