मैवाखोलाले बगाएर दुई बालबालिका बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्। 

काठमाडौँ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्। 

शुक्रबार मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

झाझ खोलामा डुबेर बालकको मृत्यु
सर्लाहीको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। शुक्रबार साँझ बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो। 

नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको तत्काल उद्धार गरेर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। 

बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पतालमा पुर्‍याएपछि बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो। बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले जानकारी दिए। घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस