दाउन्नेमा फेरि भासियो सडक, सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा फेरि सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ।

फाइल तस्वीर

काठमाडौँ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा फेरि सडक भासिएको छ।

सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसअघि असोज १४ गते यही ठाउँमा सडक भासिएको थियो। १५ गते रातभर बन्द गरेर सडक मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। 

सोही ठाउँमा फेरि सडक पछि पौने ८ बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेमश बोहोराले जानकारी दिए। 

उनका अनुसार सडक करिब २० फिट लम्बाई र ५ फिट गहिरो खाल्डो परेको छ। पटक–पटक सडक भासिँदा दशैँ मनाउन घर फर्किँदै गरेका यात्रु समस्या परेका छन्। यात्रुहरूले सडक खुल्ने प्रतीक्षामा छन्। 

पूर्वबाट पश्चिम जाने सवारीसाधन दुम्किवासतिर र पश्चिमबाट पूर्व जाने सवारीसाधन बर्दघाटतिर रोकिएका छन्। प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास भइरहेको जनाएको छ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले विभिन्न ठाउँमा सडक क्षतिग्रस्त हुँदा चाडबाड मनाउन गाउँ फर्किनेहरूले सास्ती खेप्नु परेको छ।