राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक। नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ।
सुन र नुनको खानीको ‘भोट’लाई हामी पहिले ‘लाम्कानेको देश’ भन्थ्यौँ। भोटेहरू भेडाका बथान लिएर काठमाडौँ आउँथे। पछि अरनिको राजमार्गमा काम गर्ने चिनियाँ प्राविधिकसँग नेपालीको व्यावहारिक अन्तरघुलनले भोटका बारेमा कैयन् मिथक तोडिँदै गए। हरेक शनिबार पाँचखाल, काफलेडिहीमा देखाइने चिनियाँ डकुमेन्ट्रीको भाषा बुझिन्थेन, तर तिनले चीनबारे एउटा धारणा बन्दै गयो। ‘चीन सचित्र’ र ‘रेडबुक’ उतिखेर नेपालमा छ्यासछ्यास्ती पाइन्थे। पछि चिनियाँ सहयोगमा कोदारी बाटो बन्यो। त्यसलाई लिएर भारतीय पक्षको विरोधलाई राजा महेन्द्रले ‘कम्युनिस्ट गाडी चढेर आउँदैन’समेत भने अरे।
समयले हुत्याउँदै लाँदा भारतीय नक्सल आन्दोलनमा संलग्न गुरु प्रोफेसर हिलारियन पिटरदासमार्फत चिनियाँ साहित्य पढ्न पाएँ। त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। पेकिङ रेडियो निरन्तर सुन्ने गर्थ्यौं। रेडियोले नक्सल आन्दोलनलाई ‘वसन्तको मेघ गर्जन’ भनेको थियो।
संसारकै कम्युनिस्ट आन्दोलन सोभियत रुस र चिनियाँ पक्षमा विभाजित थियो। नेपालमा पनि कम्युनिस्टहरू दुई धारमा बाँडिए। ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओको कथनले विश्वका कम्युनिस्ट संगठनमा छापामार–गुरिल्ला युद्ध या दीर्घकालीन जनयुद्ध कार्यनीतिक सिद्धान्त बन्दै गए। नक्सलबाडी, झापा विद्रोह, गोन्जालो नेतृत्वको साइनिङपाथको ‘जनयुद्ध’ र नेपाली माओवादी ‘जनयुद्ध’समेत त्यही ‘ह्याङओभरको उमंग’ थियो।
म पनि आफ्नो माउपार्टी (माओवादी) को धारणा बोक्दै सांस्कृतिक क्रान्तिको पक्षधर बनेछु। २०३७ सालमा नेकपा चौथो महाधिवेशन (चौम) ले चीनको सांस्कृतिक क्रान्तिलाई प्रतिक्रान्ति भन्न पुग्यो भने मालेले परिवर्तनलाई समर्थन गर्यो। चौमको विकसित रूप मसाल र माओवादी थियो भने मालेबाट एमाले बन्यो। हामी उतिखेर साम्यवादको कल्पनामा गीत गाउन थालिसकेका थियौँ:
लेउ विचार माओको,
बुद्धी लेउ चाओको।
बसी खाने साहुको,
नछोड है, फोर टाउको।
हामी चिनियाँ साहित्य पढ्थ्यौँ। युवाका गीत, रातो चट्टान, रातो लालटिन, ह्वाङहोका गीतजस्ता सिर्जना नेपालीमा अनुवाद भइसकेका थिए। लुसुन र याँङ मोका साहित्य पनि नेपालमा पाइन्थे। नेपालमा उपलब्ध हुने चीन सचित्र र पेकिङ रिभ्युजस्ता पत्रिकाले राजनीतिक सोच राख्थे। इशापूर्व पाँचौँ सदीको सन्जुको ‘आर्ट अफ वार’ त पछि जनयुद्धमा सैन्यको मूलग्रन्थ नै बन्यो। अध्यात्मवादीले सोच्नेजस्तै ‘स्वर्ग’ चीन र एकछत्र नायकका रूपमा जनयुद्धताका माओत्सेतुङलाई सोचिन्थ्यो।
⁎⁎⁎
यतिखेर कल्पनाको त्यही स्वर्ग चीनमा छौँ हामी। पुष्पनगरी ग्वाङजाउ (क्यान्टन)बाट छिङहाई प्रान्तको राजधानी छिनिङमा। चीनको २२ प्रदेशमध्ये एक प्रदेशको राजधानी–शहर तिब्बती पठारमा छ।
‘विश्वको छत’ र तेस्रो ध्रुव भनेर चिनिने छिङहाइ– तिब्बती पठार प्रकृतिको सुन्दर उपहार र मानव क्षमताको अद्भुत संगम रहेछ। ह्वाङहो, याङ्सी र मेकाङ्ग नदी यहीँ भएकाले यसलाई ‘पानीको छत’ पनि भनिँदोरहेछ।
चीनको उत्तरपश्चिममा रहेको छिङहाई प्रान्त याङ्जी र ह्वाङहो (एलो रिभर) र मेकाङ नदीको उत्पत्ति थलो हो। यसको क्षेत्रफल ७२ हजार वर्ग किलोमिटर छ। ५९ लाख ४० हजार वासिन्दा भएको यस प्रान्तमा थप तीन करोड जनसंख्या थपिए पनि यसलाई बोझ हुनेछैन। यो ठाउँ छिङहाइ तालका लागि पनि प्रख्यात छ। सबैभन्दा ठूलो अन्तर्देशीय नुनिलो ताल जलक्षेत्र र सिमसार भूमि हो यो। अनेकौँ दुर्लभ जंगली जनावरको आदर्श वासस्थान बनेको छ यो। यो प्रदेशमा पोटासियम र म्याग्नेसियमजस्ता ६३ खनिज पर्दाथ पाइन्छ।
प्रकृतिको सुन्दर थलो छिनिङ अनेकन् सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेछ। छिनिङ ह्वाङसुई नदी किनारमा छ। प्रदेशको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रसमेत हो यो शहर। यसलाई विश्वको चिसो शहर, चीनको गर्मीको रिर्साेट, राष्ट्रिय सभ्य शहर, विश्व पर्यटन शहर र राष्ट्रिय वन शहरका उपमा पनि दिइँदो रहेछ। यसलाई चीनको खुशीसुखी शहरको (ह्यापी सिटी)का रूपमा २०२०, २१ र २२ मा सम्मान गरिएको रहेछ।
छिनिङमा चिनियाँ ‘अफिसियल’, पार्टीका नेतृत्व र प्रादेशिक विदेश विभागको न्यानो स्वागत र भेटघाटले भ्रमणको शुरूआत नै आत्मीय र मनमोहक बनायो।
⁎⁎⁎
चीनको प्रमुख जातीय समूह हान (९२ प्रतिशत) हो भने अल्पसंख्यकका ५६ जातीय समूह छन्। अल्पसंख्यकमा मुख्यतः तिब्बती र चिनियाँ भाषी हुई र सलार मुस्लिमको उल्लेख्य उपस्थिति छ। तु मंगोल जनजाति छन्। ताएर मठ, छिन्घाई ताल, बर्ड्स टापु, डोंगगुआन गैन्ट मस्जिद, बेशान मन्दिर चीनका प्रसिद्ध धार्मिक सम्पदा हुन्। पाँच धर्मको एकीकृत बस्ती, विशाल मठहरू, जैविक तरकारी खेती र खुशीसुखी गाउँले भिन्नाभिन्नै सन्देश दिएर समग्र तिब्बती इतिहास र सभ्यता विकासको चार हजार वर्ष पुराना ऐतिहासिक दस्ताबेजसाथ यहाँ ह्वाङहो सभ्यता बोलिरहेका थिए।
पठारभित्र अनेकौँ उपत्यका र नदी छन्। संसारका ६ सभ्यतामध्ये ह्वाङहो एक हो। सिन्धुघाँटी महान् पूर्वीय सभ्यता हो। उल्लेख्य छ, महान् सभ्यताहरू नदी किनारमै छन्। चिनियाँ लोककथा र गीतमा पाइने ह्वाङहो नदीका उपहार र दुःख वर्णित छन्। सात प्रदेश भएर बग्ने पाँच हजार ४६४ किलोमिटर लामो ह्वाङहो नदीलाई ‘चीनको दुःख’ पनि भनिन्छ। बर्खाको बाढीले खेतीका लागि उपयुक्त उर्वर भूमि यस नदीले बगाउने गरेको छ।
इलाहावादमा गंगाको त्रिवेणी नुहाएर भारतीय उपमहादीपको सभ्यतालाई नमन गरेझैँ मैले पनि यहाँको 'हयाप्पी भिलेज'मा ह्वाङहोको पानी छोएँ। अनि सम्झना आयो– चीनविरोधी कथ्य सिर्जना गर्ने पश्चिमेली मिडियाका पत्रकारलाई जवाफमा पौडी खेल्दै नदी तर्ने माओको भूमिका। अहिले पनि चीन संसारका धेरै पर्यटक, लेखक र पत्रकार आफ्नो देशमा निम्त्याएर सुनेको–पढेकोभन्दा देखेको चीन प्रस्ट्याउने काममा लागिपरेको छ।
आतिथ्यको महानता चिनियाँको संस्कृति रहेछ। अझ उशु गाउँको तिब्बती आतिथ्यले पहिलाका सोच भत्किए। मेरो उमेर, सुगर र हाई ब्लडप्रेसरले कुनै समस्या पर्ला कि भनेर हामीलाई स्वागत गर्नेहरू चिन्तित थिए। स्वायत्त उशुलाई गाउँ भनिए पनि यो हाम्रा शहरहरूभन्दा पनि आधुनिक छ। पुरातात्त्विक संग्रहालय, लाखौँ पत्थरमा कोरिएका र कोरिँदै गरेका अनेकौँ स्मृति, पहाडका चट्टान काटेर बनाइएका पुराना र नयाँ गुम्बा, भिक्षुहरू र तिब्बती संस्कृतिले चीन बोलिरहेको देखिन्थ्यो। हरिया पाटनमा चरिरहेका चौँरी, भेडा र घोडाले घाँसे मैदान फूलबारीझैँ देखिन्थे। सन् २०१० मा ७.१ रेक्टर भूकम्पले ध्वस्त शहर थोरै समयमा कसरी आधुनिक शहरमा फेरियो भन्ने अध्ययनका लागि पनि उशु गाउँ दृष्टान्त बन्न सक्छ।
सानदार इतिहास भएको र तीव्र विकास भइरहेको चीन वैश्विक युवा शक्ति हो। दार्शनिक कन्फ्युसियसका विचार चिनियाँले अत्यन्तै आदर गर्दा रहेछन्। कन्फ्युसियस धर्म प्रचारक नभई समाज सुधारक थिए। यिनले ईश्वरबारे कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। कन्फ्युसियसका नाममा चीनले शान्ति पुरस्कार पनि दिने गर्छ। लाओत्सेको ताओ अध्यात्मले मान्छेहरूमाझ सकारात्मक ऊर्जा दिने रहेछ। ‘ताओ तेह चिङ’ (दि बुक आफ ताओ) दार्शनिक र धार्मिक ताओवादको केन्द्रविन्दु हो। अहिले चिनियाँ समाजमा लाओत्सेको जीवनदृष्टिभन्दा कन्फ्युसियसको नीतिवादी विचार धेरै प्रभावी रहेछ। तिब्बती बुद्ध धर्म र चिनियाँ बुद्ध धर्मको पनि यस समाजमा प्रभाव छ।
चिनियाँसँग ऐतिहासिक लिखत, चार हजार वर्ष पुराना पुरातात्त्विक सामान उपलब्ध छन् भने एघारौँ सदीको मस्जिद र पन्चेन लामाको गुम्बा पनि अहिले आराध्यशाला बनेका छन्। अझ उशुको गुम्बामा भृकुटी र स्रोङ्चन गम्पोको नामसँगै नेपाली कला पनि देख्न पाइन्छ।
काठमा कुँदिएका र भोजपत्र (ताड) मा लेखिएका पुरातात्त्विक सामग्रीले संग्रहालयको गरिमा बढाएको मात्रै हैन, संसारकै नृवंशशास्त्र (एथ्नोग्राफी) र मानवशास्त्रका गम्भीर अध्येयतालाई सन्दर्भ–सामग्री उपलब्ध छन्। ३९९ इस्वी देखी ४१२ सम्म भारत, श्रीलंका र नेपाल भ्रमणमा रहेका फाहियान चिनियाँ बौद्ध भिक्षु, यात्री, लेखक र अनुवादक थिए। उनले गौतम बुद्धबारे गहन अध्ययन गरे। अर्का चिनियाँ यात्री हुयनसाङले सातौँ शताब्दीताका यस भेगको भ्रमण गरे। उनी ६२९ देखि ६४५ सम्म यस भूभागमा रहे। भारतीय उपमहाद्वीपको प्रमाणिक इतिहासको श्रेय पनि उनीहरूलाई जान्छ। भारतीय महापण्डित राहुल सांकृत्यायनले तिब्बत पुगेर लुप्त भइसकेका बौद्ध साहित्य संकलन गरे।
⁎⁎⁎
दुई साता लामो भ्रमण 'महाचीन' अध्ययनका लागि अत्यन्तै छोटो समय हो। माओवादी ‘जनयुद्ध’बाट आएका र सांस्कृतिक क्रान्तिको पक्षधर भएकाले र शायद उमेरमा पाको र माओको चीनप्रतिको संवेदनशीलता देखेर होला, सहयात्री मित्रहरू मलाई ‘माओ बा’ भन्थे। त्यो व्यङ्ग्य हो वा पृष्ठभूमि—जेसुकै होस्।
हामीसँग असंख्य जिज्ञासा थिए। विषयलाई आलोचनात्मक चेतअनुसार अध्ययन गर्न चाहिएको पनि थियो। हुन त हामी संघाईजस्तो आर्थिक र राजनीतिक राजधानी बेइजिङ गएका थिएनौँ, ‘एक देश दुई नीति’को हङकङ र मकाउको अभ्यास नियाल्ने गरी पुगेका थिएनौँ। याङसी नदी तह लगाएर सिँचाइ, विद्युत् उत्पादन र बाढी नियन्त्रण गरिएको थ्रीगर्जेज बाँध (जसले पृथ्वीको गतिलाई समेत प्रभाव पारेको छ भनिन्छ) र अन्तरिक्षबाट देखिने एउटै मानवनिर्मित संरचना 'ग्रेटवाल' पनि देख्न पाएका थिएनौँ। त्यसो हुँदा उदाउँदो विश्व महाशक्तिलाई अध्ययन गर्ने हाम्रा सीमा, समस्या र आग्रह थिए।
एउटा सानो अंशमा टेकेर समग्रको धारणा बनाउन सकिँदैनथ्यो। तर, चीनले कसरी विचारको राजनीतिलाई समाज र धरातलमा फेर्न सकेको छ भन्ने नियाल्न हामलाई मन थियो। चिनियाँ तरिकाको समाजवादी अभ्यास कस्तो छ? के कम्युनिस्ट विचारबाट चीन टाढिएको हो? पश्चिमा मिडियाले भनेजस्तै अल्पसंख्यक र धर्मप्रति चिनियाँ सत्ता साँच्चै बर्बर छ? चीनले गाउँ र शहरको दूरी कसरी घटाउँदै छ? महाशक्ति बन्न उसका के–के बाधा र चुनौती होलान्? चीनले प्रकृति र चरम उत्पादनलाई कसरी व्यवस्थापन गरिरहेको छ? सभ्यता र विज्ञानलाई समाज र मानवसँग कसरी जोडिरहेको छ? त्यो नियाल्ने सानो आँखीझ्याल थियो यात्रा।
यात्राबाट केही निचोड निस्के:
–पश्चिमा मिडियाले उठाएका कैयन् विषयले हामी भ्रमित छौँ।
–कन्फ्युसियस र मार्क्सलाई जोडेपछि जे बन्छ, त्यही चिनियाँ मोडलको साम्यवाद हो। चीनमा राज्य नियन्त्रित पुँजीवाद फस्टाइरहेको छ। त्यसो हुँदा, ट्रेडमार्कमा सीमित नेपाली कम्युनिस्टले वैचारिक रूपमा सिर्जनात्मक प्रयोग गर्ने चीनलाई आलोचना गर्न सक्ने नैतिक अधिकार देखिँदैन। सोच र संस्कृतिमा सामन्तवादी हामी व्यवहारमा द्वन्द्ववादी पनि रहेनछौँ।
– आदेशले समाज र संस्कृति फेरिँदैन। विचार फेर्न सजिलो छ, आस्था र संस्कृति फेर्न औधी गाह्रो हुन्छ। त्यसले लामो समय लिन्छ। सांस्कृतिक क्रान्तिका बेला कयौँ जबरजस्ती भएका पनि रहेछन्।
–अल्पसंख्यकको आस्था र संस्कृति रक्षाका लागी राज्यले नै सहयोग गर्छ। मुस्लिमहरूले निर्धक्क जालीदार टोपी, हिजाब, बुर्का लगाएको देखियो। मुस्लिम होटलमा हलाल गरेको मासुका परिकार पनि खायौँ हामीले। बजारमा लामा-भिक्षुहरू पनि प्रशस्तै देखिए, जताततै गुम्बा देखिन्थे।
–विश्व महाशक्ति बन्न शहर र गाउँको दूरी घटाउनु र गरिबी समस्या हल गर्ने चीनका चुनौती हुन्। समस्यालाई तीव्र हल गर्ने योजनासहित चिनियाँ चौधौँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनले नयाँ नीति अघि सारेको रहेछ।
–सरकारी कर्मचारी र राजनीतिज्ञले सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाउँदैनन्।
–जमिन व्यक्तिका नाममा छैन, खेती र उद्यमका लागि सरकारसँग लिजमा लिनुपर्छ। निजी र सरकारी दुवै खाले उद्यमहरू छन्।
–एशियाको सिलिकन उपत्यका भनिने छिनिङ शहरमा विश्वकै सबभन्दा ठुलो सौर्यऊर्जा उद्यम छ। यसले मरुभूमिलाई चमत्कारिक उपयोग गरेको छ। वातावरणमैत्री उद्यमसँगै हरियो घाँस पलाउँदा चरण क्षेत्रसमेत बनेर उद्यम, चरण र पशुधनको एकीकृत विकासको विशेषता पाइन्छ।
–थाङ्का र सोलर उद्यमले गिनिज बुक्समा नाम लेखाएका छन्।
–सोलार, वायु र हाइड्रो विद्युत् उत्पादनको केन्द्र बन्दो छ। लिथियम ब्याट्री, विभिन्न खनिज उत्पादनको मुख्य थलो हो।
– शासकमा चेतना र प्रतिबद्धता भएमा मान्छेले गरे केसम्म हुन सक्दैन भने सशक्त उदाहरण बैंसालु चीन हो।
–बेलायती यात्री र लेखक वाल्टर एलेने आयरल्यान्डको १९०१ मा प्रकाशित अमेरिकी सत्ताका लागि लेखिएको पुस्तक 'चाइना एन्ड पावर्स' पुस्तकमा स्पष्ट तरिकाले चीन आउँदो समय विश्वको शक्तिशाली देश हुनेछ भन्ने तर्क र तथ्य लेखे।
क्विङवंशको जर्जर राजशाही रहेको चीन कुनै बेला पाँच साम्राज्यवादी देशहरूको उपनिवेश थियो। 'चाइना एन्ड पावर्स' पुस्तक लेखिँदा सन यात्सेनको कोमिन्ताङ पार्टीको जन्म भएको (१९१२) थिएन। चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना (१९२१) भएकै थिएन। माओ नेतृत्वमा चीनको विकास त्यतिखेर भइसक्ने कुरै भएन। त्यसैबेला जोसेफ पुलित्जर सचिवालयमा रहेका आयरलेण्डले कल्पनामा हैन, यथार्थ भविष्यवाणी गरेका थिए।
राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक। नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ। अल्पसंख्यकको विश्वास लिन तिनका भाषा, साहित्य र आस्थाको संरक्षण र संवर्धन गर्नपर्छ। यो संवेदनशील विषय भएकाले चीनविरोधीहरू यसैको जडमा खेलिरहेका र मिथ्या प्रचार पनि गरिरहेका छन्। अहिलेको अध्ययन भ्रमणबाट त्यही अनुभूति गर्न पाइयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
