कञ्चनजंघा हिमाल जाने क्रममा पहिरोले पुरिएर पर्यटन सहयोगीको मृत्यु

फक्ताङलुङ गाउँपालिका–६ को इटहरीचोकमा शनिबार बिहान पहिरो खस्दा बाटोमा हिँडिरहेका टिकाबहादुर राईको मृत्यु भएको हो। 

काठमाडौँ– ताप्लेजुङस्थित कञ्चनजंघा हिमालको आधार शिविर जाने क्रममा पहिरोले पुरिएर पर्यटन सहयोगीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका–५ का ४० वर्षीय टिकाबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

फक्ताङलुङ गाउँपालिका–६ को इटहरीचोकमा शनिबार बिहान पहिरो खस्दा बाटोमा हिँडिरहेका उनको मृत्यु भएको हो। 

प्रहरीका अनुसार राईसहितको तीन जना जापानी पर्यटक र १३ जना सहयोगीको टोली हिमालतर्फ जाँदै थियो। उनीहरू सेकाथ‍ुममा बास बसेर बिहान हिँडेका थिए। 

पहिरो झर्ने क्रम नरोकिएकाले शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।