दशैँमा बालबालिकाको चंगा‍‍ उमंग (तस्वीरहरू)

बालबालिका दशैँका बेला हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्‍याउन र साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन उत्साहित हुन्छन्।

काठमाडौँ– दशैँ पर्वका धेरै रमाइलो र आकर्षक पक्षमध्ये चंगा उडाउनु पनि एक हो। शहरीकरण बढेसँगै आकाशमा चंगा देखिन केही कम भएको छ। यद्यपि दशैँताका काठमाडाैँको आकाशमा चंगा बयेली खेलिरहेका देखिन्छन्।

शरद ऋतुमा पर्ने दशैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ। चंगा उडाउनका लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ। दशैँताका झरी पर्दैन र हुस्सु पनि लाग्दै, त्यसैले चंगा उडाउन उपयुक्त हुन्छ। यो मोहक मौसममा रंगीबिरंगी चंगा उड्न थालिसकेका छन्।

दशैँमा स्कुल तथा कलेज धेरै दिन बिदा हुने हुनाले पनि केटाकेटीलाई पढाइलेखाइको चाप हुँदैन, यो बेला रंगीबिरंगी चंगा उडाउन पाउँदा उनीहरूको खुशीको सीमा नै हुँदैन।

उनीहरू हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्‍याउन तल्लीन हुन्छन् र साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन उतिकै उत्साहित। दशैँको आगमनसँगै कागेश्वरी मनोहराको कृष्ण मन्दिर क्षेत्रमा चंगा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू।