लेबनान नछाड्ने राष्ट्रसंघीय शान्ति सेनाको घोषणा

स्थानान्तरण हुन इजरायलले गरेको अनुरोधका बाबजुद संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने घोषणा गरेको छ।

स्थानान्तरण हुन इजरायलले गरेको अनुरोधका बाबजुद लेबनानका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनीफील)ले शनिबार दक्षिणी लेबनान नछोड्ने जनाएको छ।

गत सेप्टेम्बर ३० मा इजरायली सेना (आईडीएफ)ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेको थियो। त्यसपछि उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसंघीय सुरक्षा बलले जनाएको छ।   

सुरक्षा बलले इजरायली अनुरोधको बाबजुद शान्ति सेना सबै स्थानमा  उपलब्ध रहने, निरन्तर रूपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झन्डा निरन्तर फहराइरहने बताएको छ। उसले आवश्यक भएमा आकस्मिक योजना तयारी अवस्थामा रहेको पनि जनाएको छ।  

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकु समूह हिजबुल्लाह विरुद्धको अभियानलाई तीव्र बनाएको छ। यसक्रममा एक हजार ११० भन्दा बढी मानिस मारिएका छन्। लाखौँ विस्थापित भएका छन्। 

इजरायलले यस हप्ताको शुरूआतमा दक्षिण लेबनानमा आक्रमण थालेको थियो। लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव १७०१ अनुरूप दिगो शान्तिका लागि पुन: प्रतिबद्ध हुन युनीफीलले आग्रह गरेको छ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबीचको युद्धको अन्त्य गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ ले लेबनानी सेना र राष्ट्रसंघीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो।