पैयुँ गाउँपालिकामा कोदोको उत्पादक बढाउन किसानलाई प्रोत्साहन

कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

पर्वत– रैथाने बालीका रूपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउन कृषकलाई अनुदान वितरण गरिने भएको छ। दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो। 

कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ। किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यक्ष ठकुरीले बताए। 

अनुदान पाउनका लागि कम्तीमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ। कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। चालु आर्थिक वर्ष विसं २०८१/८२ बाट लागू भएको यो कार्यक्रमलाई बर्सेनि वृद्धि गर्दै लैजाने पालिकाको योजना छ। 

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो। पछिल्लो समय घरबाससँगै शहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ। कोदोको माग बढ्दै जान थालेपछि व्यावसायिक रूपमा कोदोको खेती गर्न तर्फ कृषकलाई आकर्षण गर्न अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। उनका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ। 

धान, मकै, गहुँ लगायतका बालीजस्तै कोदोमा यान्त्रिकीकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताए। पालिकाले प्रोत्साहन स्वरूप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ। 

यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो। केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ। कोदोखेती गर्ने कृषकलाई यान्त्रीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा पाँच लाख रुपैयाँ कोदोबालीको प्रवर्द्धनका लागि कृषकलाई वितरण गरिएको थियो। 

पर्वतमा गत आर्थिक वर्षमा आठ हजार ३१० मेट्रिकटन कोदो उत्पादन भएको थियो। त्यसमध्ये पाँच हजार १७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। त्यसबाट पर्वतले २३ करोड २८ लाख ७५ हजार रुपैयाँ भित्र्याएको थियो। उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैँसीको दानाका रूपमा प्रयोग गरेका थिए । 

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन्। जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ। बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए।