हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्लामा जिप दुर्घटना हुँदा दशैँ मनाउन जाँदै गरेका दुई जनाको मृत्यु भएको छ।

हुम्ला– ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हुम्लाबाट नेपालगन्ज जाँदै गरेको लु१ज २३४३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब ६ वर्षीय अभिषेक बुढाको मृत्यु भएको छ।

रोकिराखेको जिप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ। जिपमा चालकसहित सात जना सवार रहेकोमा ‘गियर बक्स’ बिग्रेर बनाउन थालेपछि पाँच जना गाडीबाट निस्किएका थिए। परियार र बुढाभित्रै रहेका बेला गाडी पछाडि गुडेर दुर्घटनामा परेको हो।

मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गइरहेका थिए। उनीसँगै बुढा पनि मामाघर गइरहेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।