लेबनानबाट चीनले गर्‍यो आफ्ना २१५ नागरिकको उद्धार

इजरायलले लेबनानमा बमबारी तीव्र पारेपछि चीनले २१५ नागरिकलाई उद्धार गरेको छ। रुस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका देशले पनि लेबनानबाट आफ्ना नागरिक झिकाउने अभियान थालेका छन्।

इजरायलले गत महिनादेखि लेबनानमा बमबारी तीव्र पारेपछि चीनले आफ्ना नागरिकलाई उद्धार गरेको छ।

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भएको छ। यसै साता इजरायलले इरान समर्थित हिजबुल्लाहको प्रभाव रहेको दक्षिणी लेबनानको केही भागमा आफ्नो सेनाले ‘स्थलगत आक्रमण’ गरेको बताएको थियो।

इजरायलले लेबनानसँगको आफ्नो उत्तरी सीमाको सुरक्षामा आफ्नो ध्यान केन्द्रित गरेको छ। यहाँ हिजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा आक्रमण शुरू गरेयता दैनिकजसो भिडन्त हुने गरेको छ। 

रुस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका देशले पनि लेबनानबाट आफ्ना नागरिक झिकाउने अभियान शुरू गरेका छन्।

बेइजिङको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीन सरकारको संगठन र व्यवस्थाअन्तर्गत लेबनानबाट हालसम्म दुई समूहमा २१५ जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ।”

लेबनानस्थित चिनियाँ दूतावासले लेबनानमा आफ्नो उद्धार अभियान जारी राखेको र त्यहाँ रहेका चिनियाँ नागरिकलाई सुरक्षात्मक उपाय अपनाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। उद्धार गरिएका चिनियाँ नागरिकलाई कहाँ लगिएको हो भन्नेबारे मन्त्रालयले खुलाएको छैन।

लेबनानी अधिकारीका अनुसार सेप्टेम्बर २३ मा इजरायली बमबारीमा वृद्धि भएयता लेबनानमा एक हजार ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।

इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेपछि चीनले द्वन्द्वलाई थप भड्किन नदिनका लागि पहल गर्न बुधबार विश्वशक्ति राष्ट्रहरूलाई आग्रह गरेको थियो।